नवलपुरमा २५ सय ५३ हेक्टर वन क्षेत्रमा डढेलो

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख १२ गते १३:०७
नवलपुरमा २५ सय ५३ हेक्टर वन क्षेत्रमा डढेलो

कावासोती । नवलपुरको २ हजार ५ सय ५३ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । चैत दोश्रो सातादेखि सुरु भएको डढेलोले यहाँको मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको वन क्षेत्र बढी प्रभावित भएको छ ।

डिभिजन वन कार्यालय कावासोतीका अधिकृत शिशिर लम्सालका अनुसार यसपटक यहाँ लागेको डढेलो सतही डढेलो हो । यस्तो डढेलोले साना दाउरा डढेर सखाप बनाएको छ । सतही डढेलोले खासगरी चराका गुँड नष्ट हुने र माटोको उर्वरा क्षमतामा ह्रास ल्याउने गर्छ । चैत दोश्रो सातादेखि बाक्लो वन क्षेत्रमा विनयी त्रिवेणी र मध्यविन्दु नगरपालिकामा धेरै डढेलो लागेको छ भने कालीगण्डकी करिडोर आसपास बुलिङटार, बौदीकाली गाउँपालिकाका राष्ट्रिय वन, सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वन र चक्लावन्दी वनमा समेत आगो लागेको हो । डढेलोका कारण देवचुली, कावासोती, गैडाकोट तथा हुप्सेकोट का वन क्षेत्र समेत प्रभावित भएका छन । करिब ३ सातादेखिको डढेलोले वायु प्रदुषण बढेको छ भने तापक्रम बृद्धि भएको छ ।

त्यसै गरि गएको मंगलबार जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खाको जंगलमा लागेको डढेलो बस्तीमा पस्दा त्यहाँका ४ वटा घरगोठ जलेर नष्ट भएको नवलपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगलागीबाट चनौटेतर्फको जंगल नजिक निवासी स्थानीय नवलसिंह ढेंगाको ढुङ्गा माटो र जस्ताले छाएको दुईतले कच्ची घर, गोठ सुंगुरको खोर, लत्ताकपडा भाँडाकुँडा र नगद डेढ लाख रुपैयाँ जलेर नष्ट भएको छ । उनका छिमेकीका अन्य ३ घर र गोठ जलेको छन् ।आगो निभाउने क्रममा श्री ज्ञानज्योती स्कुलका शिक्षक गंगा प्रसाद घिमिरे सामान्य घाइते भएका छन् । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

जंगल आसपासको बस्ती र राजमार्ग छेउछाउमा लागेको आगोका कारण जोखिम बढ्दो छ । सामुदायिक वनका उपभोक्ताले आगो नियन्त्रणको काम गरिरहेका छन् । पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै पनि डढेलो ह्वारह्वार्ती फैलिएको छ । वर्षात् नभएका कारण डढेलो नियन्त्रण हुन नसकेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख वसन्त केशव अधिकारीले बताए । “डढेलोले पर्यावरणमा व्यापक असर गरेको छ । वायुप्रदुषण पनि बढाएको छ,” उनले भने । डिभिजन वन कार्यालयले डढेलो नियन्त्रणका लागि स्थानिय वन उपभोक्ता र सुरक्षाकर्मीसँग मिलेर नियन्त्रणको काम गरिरहेको अधिकारीले जानकारी दिए । राजमार्ग आसपासको वनमा समेत डढेलो छ । वर्षात् नभएका कारण नियन्त्रण हुन सकेको छैन ।

जिल्लामा राष्ट्रिय, सामुदायिक, चक्लाबन्दी, निजी तथा मध्यवर्ती वन गरेर ६४ हजार ६ सय ८३ हेक्टर वन क्षेत्र रहेको छ ।

 

प्रकाशित : २०८१ वैशाख १२ गते १३:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI