नारायणघाट बुटवल सडक बिस्तार सुस्त गतिमा : ५ वर्षमा ५० प्रतिशत भौतिक प्रगति

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख १६ गते १७:१०
नारायणघाट बुटवल सडक बिस्तार सुस्त गतिमा : ५ वर्षमा ५० प्रतिशत भौतिक प्रगति

कावासोती । ४२ महिनामा काम सम्पन्न गर्ने गरि सम्झौता भएर २०७५ को चैत महिनामा शिलान्यास भएको नारायणघाट बुटवल सडकखण्डको बिस्तारको काम निकै सुस्त गतिमा चलेको छ ।

दुई पटक सम्म आयोजनाको म्याद थपिएको भए पनि सडक आयोजनाको पुर्वी खण्डमा ५ वर्षको अवधिमा मात्रै ५० प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए । उनका अनुसार पुर्वी खण्डमा सडकको दुवै लेन गरेर कुल ३५ किलोमीटर अर्थात २७ प्रतिशत मात्रै सडक कालोपत्र भएको छ । हाल डण्डा देखि पश्चिम र थुम्सीको जंगलमा कालोपत्रको काम चलिरहेको छ ।

आयोजनाको पुर्वी खण्डमा रहेका साना पुलहरुको निर्माणको काम सकिएको भए पनि पुलका दुवै छेउमा बार निर्माणका कामहरु बनाउन बाकीनै रहेको छ भने ठुला पुल मध्य अरुणखोला र विनयी खोलाको पुलमा भने सब स्टकचरको काम बाकी रहेको छ । १० वटा ठुला पुलमा भने सब स्टक्चरको काम सकिएको र ग्रडर राखेर निर्माणको काम अगाडि बढाईएको झाले बताए ।

बजार क्षेत्रमा मुख्य समस्याको रुपमा रहेको बिजुलीको पोल सार्ने काम पनि उत्साहाजनक रुपमा अगाडी बढेको छैन ।देवचुलीको सिजि, रजहर र गैँडाकोटमा बिजुलीको पोल सार्ने काम बाकीनै रहेको झाले बताउछ्न । उनका अनुसार दाउन्ने पहाड क्षेत्रमा पहाड काटने र पर्खाल लगाउने काम चलिरहेको छ ।

पछिल्लो पटक गत साउनमा आयोजनाको पुर्वी खण्डलाई भदौ ११ बाट लागू हुने गरि ३३० दिनको म्याद थप गरिएको भए पनि थपिएको समयमा काम नसकिने देखिएको हो । थपिएको समय गत भदौ ११ देखि वैशाख १५ गते सम्मको अवधिमा आयोजनाको निर्माण कम्पनीले मात्रै १२ प्रतिशत मात्रै काम सम्पन्न गरेको हो ।

सरकारले आयोजनाको समय आगामी २०८१ को साउन सम्म दिएको भए पनि आयोजना निर्माण कम्पनीले २०२५ को फेब्रुअरी सम्ममा ९५ प्रतिशत काम सम्पन्न गर्ने गरि कार्ययोजना बनाएर काम गरेको म्यानेजर झाले बताए ।

थप गरिएको म्याद २०८१ साउन सम्ममा आयोजनाको भौतिक प्रगति ६० प्रतिशत भन्दा धेरै नहुने आयोजनाको पुर्वी खण्ड हेर्ने गैंडाकोटमा रहेको आयोजना निर्देशनालयका सूचना अधिकारी शिव खनालले बताए । निर्माण कम्पनीले २०२५ को फेब्रुअरी सम्ममा ९५ प्रतिशत काम सक्ने दाबी गरेको भए पनि म्याद थपको विषयमा छलफलनै नभएको र म्याद सकिए पछि म्याद थप हुने नहुने निर्णय सडक विभागले गर्ने खनाल बताउछ्न ।

निर्माण कम्पनी चाईना स्टेट इन्जिनियरिङ्ग कर्पोरेसनले नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखेर एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ । समयमा काम सम्पन्न नहुदाँ आयोजनाको लागत बढेर १७ अर्ब नाघेको छ ।

आयोजनाका लागि लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ को चैतमा शिलान्यास भएको थियो ।लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । साथै निर्माणको काम नसकिँदा धुलोले यात्रु तथा राजमार्ग आसपासका बासिन्दा पीडित बनेका छन् । धुलोका कारण व्यापार व्यवसाय समेत प्रभावित बनेको छ ।

प्रकाशित : २०८१ वैशाख १६ गते १७:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI