खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख २१ गते ९:३२
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

कावासोती । नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् ।

करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उनले यसपटक खरबुजा फलाएका छन् । “पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ”, उनले भने।

वरपर कतै चैतेधान कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबुजा लगाएर सफल भएको महतोले बताए। सरस्वती जातको खरबुजा लगाएका उनले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताए।

चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उनले बताए । ६ लाख आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उनले बताए ।

आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताए । जिल्लाको स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उनले बताए ।

“यसलाई खासै औषधि हाल्नुपरेन, प्राङ्गारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्”, उनले भने । खरबुजाखेतीमा खासै खर्च र मेहनत गर्नुनपरेको उनले बताए।

रोजगारीको सिलसिलामा सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिएका छन  । कावासोती नगरपालिका–१७ का वडासदस्यसमेत रहेएका उनी विगत छ वर्षदेखि व्यावसायिक कृषिमा लागेका हुन् । “रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने छैन । कृषिकर्मबाट पनि कमाउन सकिन्छ”, उनले भने।रासस

प्रकाशित : २०८१ वैशाख २१ गते ९:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI