आफ्नै सांसद जोडिएको सहकारी हिनामिनामा छानबिन गर्न राप्रपाको माग

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख २१ गते ९:४१
आफ्नै सांसद जोडिएको सहकारी हिनामिनामा छानबिन गर्न राप्रपाको माग

कावासोती । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीकी प्रतिनिधिसभा सांसद गीता बस्नेत जोडिएको सहकारी बचत हिनामिना प्रकरणमा स्वतन्त्र छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीको मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो ।

सांसद बस्नेत सञ्चालक रहेको कम्पनीबाट सहकारीको बचत अपचलन भएको विषय सार्वजनिक भएपछि राप्रपाले छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई निर्देशनसमेत दिएको छ ।

‘राप्रपाकी प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएकामा सोसम्बन्धी छानबिनमा सघाउ पुर्‍याउन निजलाई निर्देशन दिइयो । साथै, उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धित त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दियाको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख रुपैयाँ बिनाधितो ऋण लिएर आफ्नो समूहको रिसोर्टमा लगानी गरेको आरोपमा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुर जिल्ला प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अघि बढाएको प्रक्रियाअनुसार जिल्ला अदालतले सांसद बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सांसद बस्नेतसमेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा तीन जिल्लाका तीन सहकारीको बचत लगानी गरी हिनामिना गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको छिपछिपे उपभोक्ता सहकारी, चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी र बर्दियामा रहेको नमस्ते बचत तथा ऋण सहकारीबाट कृष्णसार रिसोर्टमा ऋण प्रवाह भएको पाइएको थियो । जिल्ला अदालतबाट पक्राउ अनुमति पाइसकेपछि पनि कार्यान्वयन गर्नुको सट्टा प्रहरी भने प्रदेश र प्रधान कार्यालयमा पत्राचार गर्दै अलमल गरिरहेको छ ।

यस्तै नजिर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि लागू हुने भन्दै प्रहरीले सांसद बस्नेतमाथिको छानबिन अघि बढाउन ढिलाइ गरिरहेको छ । यही बेला राप्रपाले भने सांसद बस्नेतलाई छानबिनमा सघाउन र सरकारी निकायहरूलाई निष्पक्ष छानबिन गर्न माग गरेको हो । साग तथा दूध बेचेर, सडकमा मकै तथा बदाम बेचेर जम्मा गरेको पैसा रिसोर्टमा लगानी गरी हिनामिना गरेको तथा बचत फिर्ता नगरेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रकाशित : २०८१ वैशाख २१ गते ९:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI