नवलपुरको विकास खर्च निराशाजनक

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ २ गते ८:४७
नवलपुरको विकास खर्च निराशाजनक

कावासोती । नवलपुरमा आर्थिक वर्षको १० महिना समय घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेट अर्थात पुजीगत खर्च भने अत्यन्त न्यून छ ।

आर्थिक वर्षको १० महिना समय सकिदा संघीय सरकारले नवलपुरलाई छुट्याएको पूँजीगत बजेटको २९.६३ प्रतिशत मात्रै खर्च भएको कोष लेखा नियन्त्रक कार्यालय नवलपुरको तथ्यांक छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका अनुसार चालु आर्थिक वर्षमा विकास निर्माणका काममा जिल्लाका लागि संघीय सरकारले रु.३ अर्ब ९० करोड ८५ लाख ६७ हजार ९ सय ९ छुट्टाएकोमा वैशाख मसान्तसम्म १ अर्ब १५ करोड ८१ लाख ९७ हजार २ सय २४ अर्थात २९.६३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको हो । त्यसै गरि कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार गण्डकी प्रदेश सरकारले जिल्लाका लागी छुट्टाएको रू १ अर्ब ३२ करोड ८६ लाख १७ हजार मध्ये ६० करोड ४८ लाख ९१ हजार ३ सय ८८ अर्थात ४५.५२ प्रतिशत मात्रै खर्च भएको छ ।

जिल्लामा १० महिनामा संघीय सरकारले उपलब्ध गराएको चालू खर्चको ८५.०१ प्रतिशत र प्रदेश सरकारले उपलब्ध गराएको चालू खर्चको ४५.५२ प्रतिशत खर्च हुँदा सोझै जनतासम्म पुग्ने विकास (पूँजीगत) बजेट न्यून खर्च भएको छ । कुल बजेटको दुईतिहाइ रकम दैनिक प्रशासनिक, कर्मचारीको तलबभत्ता लगायतका साधारण काममा खर्च भइरहेको छ ।

आर्थिक वर्षको १० महिना वित्दा पनि पुँजीगत खर्च नबढ्नुले विकास निर्माण कार्य सुस्त भएको देखाउँछ । विगतका वर्षझै यसवर्ष पनि विकासका कार्यले गति लिन नसक्दा वर्षको अन्त्यमा बजेट सक्ने हतारो हुने संकेत देखिएको छ ।

जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था गरिए पनि आर्थिक वर्षको अन्तमा आएर विकासको काम गर्ने विगतको प्रवृतिले निरन्तरता पाएको देखिन्छ ।

प्रकाशित : २०८१ जेठ २ गते ८:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI