सांसदको उद्योग अगाडिको राजमार्ग खुम्चियो, डिपिआर गर्दा गम्भीर लापरबाही

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ ३ गते ७:४७
सांसदको उद्योग अगाडिको राजमार्ग खुम्चियो, डिपिआर गर्दा गम्भीर लापरबाही

बोमलाल गिरी, नवलपुर । बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजित सडकको पूर्वी खण्डमा हालसम्म ५०.६२ प्रतिशत भौतिक प्रगति भएको जसमा १२.२३ प्रतिशत अर्थात् ३७ किलोमिटर एकतर्फी कालोपत्रे भएको आयोजनाले जनाएको छ ।

तर आधा काम सकिइसक्दा आयोजनाको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) गर्ने बेलामा गम्भीर लापरबाही भएको पाइएको छ । नवलपुरको देवचुली नगरपालिका–२, दलदलेमा रहेको चौधरी गु्रपको सिजी धाम, चौधरी उद्योग र गैँडाकोट–१२, हर्कपुरमा रहेको चौधरी फाउन्डेसन तथा सिजी उन्नति कल्चरल भिल्ला र फन पार्क अगाडिको राजमार्गको झन्डै सात सय मिटर क्षेत्रफलमा मापदण्डविपरीत चार लेनको मात्र सडक बनाइएको छ ।

सहरी क्षेत्र रहेको यो ठाउँमा हिँड्ने बाटोबाहेक छ लेनको सडक हुनुपर्ने थियो । चौधरी उद्योगले समेटेको यो क्षेत्रमा कसरी सडक खुम्चियो भन्नेमा स्थानीय नै आश्चर्यमा छन् । “त्यही राजमार्ग अन्तर्गत सहर क्षेत्रका अन्य ठाउँमा छ लेनको सडक हुँदा यहाँ कसरी खुम्चियो, हामी आश्चर्यमा परेका छौँ,” स्थानीय रामबहादुर क्षेत्रीले भने ।

गैँडाकोट–१२ का पूर्ववडाध्यक्ष थिरबहादुर बस्नेतले वारिपारि छ लेन र उद्योग अगाडिको झन्डै सात सय मिटर बाटोलाई चार लेनमा झार्दा त्यसले दुर्घटना निम्त्याउने जोखिम पनि उत्तिकै रहेको बताउँदै भने, “यस विषयमा ध्यानाकर्षण गराउन दुई पटकसम्म सडक बोर्डमा डेलिगेसन गएका थियौँ । उहाँहरूले माथिबाट जस्तो नक्सा आयो, हामीले त्यस्तै बनाएको हो । नक्सा परिवर्तन गर्न सकिन्न, त्यसका लागि केन्द्र सरकारलाई नै भन्नु पर्छ भने ।” यस विषयमा ध्यानाकर्षण गराउन नगरप्रमुखको संयोजकत्वमा सङ्घर्ष समितिसमेत बनाएर दबाब दिए पनि समाधान नभएको उनको भनाइ छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले पनि यो अचम्मको विषय भएको बताए । “बाटो विस्तार गर्दा थुप्रै सर्वसाधारणको जग्गा गएको छ तर उद्योग क्षेत्रको चाहिँ जग्गा छुनै नपाइने हो र ?” नगर प्रमुख अधिकारीले प्रश्न गरे ।

सडक आयोजनाले पनि आफूहरूले डिपिआर अनुसार काम गरेको जनाएको छ । नारायणघाट–बुटबल सडक आयोजनाका प्रमुख आशिष थापाले भने, “सम्झौता अनुसारको स्वीकृत दस्ताबेज जे थियो, हामीले त्यसै अनुसार काम गरेका हौँ ।”

सडक विभागले भने गैँडाकोटको हर्कपुर र देवचुलीको दलदलेमा रहेको चौधरी गु्रपका उद्योग अगाडिको क्षेत्रलाई जङ्गल क्षेत्र रहेको जनाएको छ । “त्यो बाटोको सर्भे गर्ने बेला त्यहाँ जङ्गल नै थियो, त्यसैले जङ्गल क्षेत्रमा चार लेनको हुने मापदण्ड अनुसार यस्तो भएको हो,” सडक विभागका आयोजना निर्देशक चूडाराज ढकालले भने ।


०५९ सालदेखि ०७० सम्म कान्तिपुर दैनिकमा चितवन ब्यूरो प्रमुख भएर काम गरेका नवलपुरका पत्रकार एवं नेपाल पत्रकार महासंंघ गण्डकीका प्रदेशका अध्यक्ष नारायण शर्माले भने अहिले चौधरी ग्रुपका उद्योग भएको क्षेत्र कहिले पनि जंगल नभएको बताउँ छन् । ‘दलदले, रजहर निक्कै पुराना सहर हुन्, अहिलेको सदरमुकाम रहेको कावासोती बजार बरु पहिले जंगल जस्तो थियो । कावासोतीभन्दा पुरानो बजार क्षेत्र हो दलदले (जहाँ अहिले चौधरी ग्रुपले सिजि धाम बनाएको छ) ।’ चौधरी ग्रुपले आफ्ना उद्योगको पर्खाल जाने त्रासले बदमासी गरेको उनको भनाइ छ ।

“राजमार्ग सरकारी जग्गा हो, कसैले सरकारी जग्गा मिच्न पाउँदैन, उद्योग रहेका क्षेत्रमा अहिले ठुलै सहर भएको छ,” आयोजना निर्देशक ढकालले भन, “स्थानीयले छ लेनकै सडक चाहियो भनेमा त्यसलाई विस्तार गर्न पनि सकिन्छ ।”

तर चौधरी ग्रुपले भने यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । चौधरी ग्रुपका वरिष्ठ प्रशासन प्रमुख रामकाजी सिटौलाले यसबारे उद्योगलाई कुनै जानकारी नभएको बताए । “मैले त छ लेन नै होला भन्ने सोचेको थिएँ तर हामीले बनाएको डिजाइन होइन,” सिटौलाले भने ।

डिपिआर स्वीकृत भएको बेला सडक विभागका महानिर्देशक रहेका कार्कीले नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको डिपिआर एसियाली विकास बैङ्क (एडिबी) को संयोजनमा तयारी भएकाले आफूलाई त्यसबारे केही जानकारी नभएको बताए । उनले भने, “हरेक वर्ष देशभरि धेरै सर्भे तथा डिपिआर निर्माणका काम भइरहेका हुन्छन् । सबैको एक/एक लाइन हेरेर साध्य हुँदैन ।”

कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले सडक विस्तारको काम गरिरहेको छ । साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ चैतमा शिलान्यास गरिएको यो सडकको अन्तिम पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ । तर थपिएको म्याद सकिन अब तीन महिना मात्र बाँकी छँदा काम भने बल्ल आधा मात्र सकिएको छ । -गोरखा पत्रबाट

प्रकाशित : २०८१ जेठ ३ गते ७:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI