खडेरीले घोल र सिमसार सुख्खा हुँदा वन्यजन्तु मर्कामा

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ ६ गते १७:०९
खडेरीले घोल र सिमसार सुख्खा हुँदा वन्यजन्तु मर्कामा
खडेरीले सुख्खा नमूना मध्यवर्ती वनको भुताहा घोल (बायाँ) र गुन्द्रही ढकाहाको उल्टौली घोल (दायाँ)

सन्जय भट्टराई, कावासोती । खडेरीले निकुञ्ज र मध्यवर्ती वन भित्रका घोल तथा सिमसारहरु सुख्खा हुँदा वन्यजन्तुहरु समस्यामा परेका छ्न ।

लामो समयदेखिको खडेरीका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्र भित्रका तालतलैया मात्रै नभएर घोल तथा सिमसार क्षेत्र समेत सुक्दै गए पछि निकुञ्ज र मध्यवर्ती वन भित्रनै वन्यजन्तुको आहाल र पिउने पानीको समस्या भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भित्रका करिब १ सय ३४ वटा प्राकृतिक र कृत्रिम तालतलैया मध्य अधिकांश लामो खडेरीका कारण सुख्खा भएका छ्न । “अधिकांश ताल तलैया सुकेका छ्न, तालतलैया मात्रै होईन खडेरीको असर सिमसारमा समेत परेको छ, नारायणी र राप्ती लगाएत नदिमा पानीको सतह निकै कम भएकाले वन्यजन्तुको आहाल र पिउने पानीमा समस्या देखिएको छ”, तिवारीले भने ।

नमूना मध्यवर्ती सामुदायिक वनको भुताहा घोल
नमूना मध्यवर्ती सामुदायिक वनको भुताहा घोल

खडेरीका कारण तालतलैया सुक्दै गए पछि यसको असर पर्यटनमा समेत देखिन थालेको छ । एकै पटकमा एक दर्जन सम्म गैँडा आहाल खेलेको देख्न पाईने नमूना मध्यवर्ती सामुदायिक वनको भुताहा घोलमा शनिबार पुग्दा एउटा गैँडा समेत फेला नपरेको नवलपुरका नेचर गाईड सुधन लम्सालले बताए । करिब २ घण्टाको जिप सफारीमा मध्यवर्ती वन क्षेत्रमा २३ वटा सम्म गैँडा फेला पर्ने गरेको भए पनि पछिल्लो समय खडेरीका कारण घोल सुक्दा मुस्किलले ६/७ वटा गैँडा फेला पर्ने गरेको उनी बताउछ्न । निकुञ्जको पश्चिम सेक्टरको मध्यवर्ती क्षेत्रमा खडेरीका धेरैको संख्यामा गैँडा फेला पर्ने भुताहा घोल, उल्टौली घोल लगाएतका घोल तथा सिमसारहरु सुक्खा भएका हुन ।

गुन्द्रही ढकाहा मध्यवर्ती वनको उल्टौली घोल
गुन्द्रही ढकाहा मध्यवर्ती वनको उल्टौली घोल

खडेरीको कारण घोल, ढाप, तालतलैया सुक्खा हुँदा वन्यजन्तुको अवलोकनमा सहज नहुने संरक्षणकर्मी डिबि चौधरीले बताए । वन्यजन्तु खडेरीका कारण शितल खोज्दै मध्यवर्ती वन र निकुञ्जक बाहिरी क्षेत्र छोडेर घना जंगल भएको तिर लाग्ने गरेको उनी बताउछ्न ।

यसरी पानीको स्रोत सुक्दै जादा वन्यजन्तु पानीको खोजिमा मानव बस्तीमा आउने सम्भावना पनि रहने र जसले गर्दा मानव वन्यजन्तु बढने चौधरीले चिन्ता व्यक्त गरे ।

पानीको स्रोत व्यवस्थापन गर्नका लागि पर्याप्त बजेट नभएको निकुञ्जका सहायक संरक्षण अधिकृत तिवारीले बताए । निकुञ्जले चालू आ.वमा २५ लाखको हाराहारीमा बजेटले सातवटा तालतलैया मात्र व्यवस्थापन गरेको छ । पर्याप्त बजेट नहुँदा नयाँ पोखरी खन्ने र पुरानाको सरसफाइ र मर्मत गर्ने काम हुन नसकेको उनी बताउछ्न । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा गर्मीयाममा तालतलैयामा आहाल खेल्न रुचाउँछ । अन्य वन्यजन्तुलाई पानी अत्यावश्यक हुन्छ तर यहाँका पुराना ताल र सिमसार क्षेत्रमा सोहीअनुसार व्यवस्थापनको काम भने हुन सकेको छैन ।

प्रकाशित : २०८१ जेठ ६ गते १७:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI