छिपछिपे सहकारी हिनामिना : ३५ जनालाई विपक्षी बनाएर जिल्ला अदालतमा शुक्रबार मुद्दा दर्ता हुने

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १७ गते १३:४८
छिपछिपे सहकारी हिनामिना : ३५ जनालाई विपक्षी बनाएर जिल्ला अदालतमा शुक्रबार मुद्दा दर्ता हुने

नारायण शर्मा, नवलपुर । छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख रुपैयाँभन्दा बढी बचत रकम हिनामिना गरेको अभियोगमा ३५ जनालाई विपक्षी बनाएर शुक्रबार सरकारी वकिलको कार्यालय नवलपरासी पूर्वले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी पूर्वका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले सहकारीको रकम हिनामिना गरेकी राप्रपा सांसद गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने जानकारी दिए ।

रकम हिनामिनामा संलग्न भएका ३५ जनामध्ये १० जना प्रहरी हिरासतमा रहेका छन् भने सांसद गीता बस्नेतसहित अन्य २५ जना फरार रहेका छन् । छिपछिपे सहकारीको १ करोड रुपैयाँ बर्दिया सदरमुकाममा रहेको कृष्णसार रिसोर्टमा लगिएको छ । त्यो रिसोर्टकी मुख्य सञ्चालक सांसद बस्नेत छिन् । २५ दिनअघि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि सांसद बस्नेत फरार रहेकी छन् ।

सहकारीको सञ्चालक समिति र कर्मचारीका रूपमा कार्यरत ३५ जनाले बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ हिनामिना गरेको प्रहरीले गरेको अनुसन्धानमा किटानी गरेको छ । यो सहकारीको रकम हिनामिना गर्ने मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे हुन् । उनी यो सहकारीको ७ वर्षभन्दा बढी समय आफैं अध्यक्ष र व्यवस्थापक थिए ।

प्रकाशित : २०८१ जेठ १७ गते १३:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI