छिपछिपे सहकारी ठगी : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ २० गते १९:०१
छिपछिपे सहकारी ठगी : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता

नारायण शर्मा, पुर्वी नवलपरासी ।कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला न्यायाधिवक्ताले राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरेका छन् ।

जिल्ला न्यायाधिवक्ता हरि घिमिरेका अनुसार सहकारीको रकम हिनामिना र ठगी शीर्षकमा उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो

मुद्दा दर्ता नम्बर ०१८३ हो । सर्वसाधारणले बचत गरेको रकम हिनामिना गर्ने संचालक समितिका हालका अध्यक्ष गोपी शर्मा, व्यवस्थापक योगेन्द्र पाण्डे, पूर्वसचिव नगेन्द्रबहादुर रिमाल, राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनालाई विपक्षी बनाइएको छ ।

सांसद बस्नेतका ज्वाई ( अघिल्लो कार्यसमितिका सचिव ) नगेन्द्र रिमालले बिना धितो ९६ लाख रुपैयाँ बर्दियाको गुलरियामा रहेको कृष्णसार रिर्सोटमा लगेर लगानी गरेका हुन् । त्यसको अध्यक्ष गीता बस्नेत भएका कारण उनीविरुद्ध सहकारीको रकम हिनामिना र ठगी अपराधमा मुद्दा दर्ता भएको हो । सहकारीका शेयर सदस्य र नियमित बचतकर्ता बाहेक अन्य व्यक्तिलाई ऋण दिन नपाइने सहकारी ऐनमा व्यवस्था छ । यहाँ शेयर सदस्य नै नरहेको कृष्णसार रिर्सोटमा सोझै ९६ लाख ( सावा ) रकम लगेर लगानी गरिएको छ ।

३५ जनाबाट सहकारीको हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ भन्दा धेरै रकम असुलउपर, त्यसको हर्जना र कैद सजायको समेत माग गरिएको छ ।

‘हिनामिना र कुसर गरेको आधारमा रकम असुल्न पर्ने र हर्जना सहित कैदको माग गरेको छु’ न्यायधिवक्ता घिमिरेले भने,’१० जना प्रहरी नियन्त्रणमा छन् । गीता बस्नेत सहित अन्य २५ जना फरार छन् । जिल्ला अदालतले विपक्षी बनाइएर फरार रहेका सबै २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेर अनुसन्धान सुरु गर्नेछ ।

जिल्ला अदालतका सूचना अधिकारी सरिता अर्यालका अनुसार हाल प्रहरी नियन्त्रणमा रहेका १० जनाको सोमवारबाट बयान सुरु हुन्छ । फरार रहेका २५ जनाको अदालतले घरमा सूचना पठाएर जानकारी गराउँछ ।

संस्थामा ७ वर्ष सम्म अध्यक्ष र व्यवस्थापक रहेका योगेन्द्र पाण्डेको डिजाइनमा रकम हिनामिना भएको प्रहरी अनुसन्धानले देखाएको छ । उनी बर्दिया निवासी हुन् । पाण्डेले आफूनिकटका व्यक्तिलाई सञ्चालक समिति, ऋण समिति, र कर्मचारी नियुक्त गरेर बिनाधितो ४ करोड भन्दा बढी लगानी गरेको अनुसन्धानका क्रममा भेटिएको छ । हालका व्यव्थापक योगेन्द्र पाण्डेले सहकारीमा शेयर सदस्य र बचतकर्ता समेत नरहेका १ सय ४० जनालाई बिनाधितो ऋण लगानी गरेर सहकारी डुबाउन भूमिका खेलेको प्रतिबेदनमा औल्याइएको छ ।

पाण्डेले आफू निकटका व्यक्तिलाई बिना धितो ऋण दिएको अनुसन्धान प्रतिवेदनमा औंल्याएको छ ।

गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालयका वित्तीय विश्लेषक निर्मल गौतमले हिसाब हेर्दा देखिएको अनियमितताको आधारमा प्रहरीले अनुसन्धान गरेको हो । प्रहरीले करिब ३ महिना लगाएर अनुसन्धान गर्दा समेत गौतमलाई राखेर अनुसन्धान गरेको जनाएको छ ।

हरेकवर्ष सहकारीको आर्थिक गतिविधि र हिसाबको लेखापरीक्षण गर्ने लेखापरिक्षक हिमानसिंह केसी एण्ड एसोसिएटलाई समेत विपक्षी बनाइएको छ ।

यो छिपछिपे उपभोक्ता संस्थाको मासिक नियमनकारी निकाय गण्डकी प्रदेश रजिस्टारको कार्यालयलाई भने विपक्षी बनाइएको छैन । छिपछिपे सहकारीको नियमनकारी निकाय प्रदेश सहकारी रजिस्टारको कार्यालय हो । यस्ले नियमन गरिरहेको हुन्थ्यो भने यति धेरै रकम हिनामिना हुन पाउँदैनथ्यो भन्ने बचतकर्ताको भनाई छ । यो सहकारीको नियमनकारी निकाय गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालय हो । ‘उसले हिसाब हेरेको भए यति धेरै अनियमितता हुदैन्थ्यो भन्ने तर्क सहि छ’, जिल्ला महान्यायाधिवक्ता घिमिरेले भने,’जिम्मेवारी बहन नगर्ने सरकारी निकायलाई विपक्षी बनाउने ऐन नेपालमा छैन । त्यसैले लेखापरीक्षकलाई विपक्षी बनाएको छु ।’

पूर्वी नवलपरासीको कावासोतीमा कार्यालय रहेको यो सहकारीमा २३ सय ९४ जना शेयर सदस्य र बचतकर्ता रहेका छन् । यो संस्थामा रकम जम्मा गर्नेहरु ज्यालादारी मजदुर , कृषक र साना व्यवसायी हुन् ।

 

प्रकाशित : २०८१ जेठ २० गते १९:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI