धुलो र हिलोले राजमार्ग अस्तव्यस्त : सर्वसाधारणलाई सास्ती, सरकारलाई छैन चासो

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ २१ गते १९:४९
धुलो र हिलोले राजमार्ग अस्तव्यस्त : सर्वसाधारणलाई सास्ती, सरकारलाई छैन चासो

सन्जय भट्टराई, कावासोती । नेपालकै मुख्य राजमार्गमा सवारीको भिडले उडाउने धुलोबाट निसास्सिएका राजमार्ग आसपासका बासिन्दा पानी परेका दिन सवारीले छ्यापेको हिलो र सडकमा हुने घण्टौँ लामो जामले अतालिएका छन । स्थानिय बासिन्दा मात्रै होइन पूर्व पश्चिम राजमार्ग भएर दैनिक यात्रा गर्ने हजारौँ सर्वसाधारण दैनिक सडकको दुरावस्थाले प्रताडित छन ।

राजमार्ग आसपासका बासिन्दा र यात्रुलाई सास्ती दिने गरी नारायणघाट बुटवलको पूर्वी तथा पश्चिम खण्ड एकैपटक भत्काइएर निमार्णको काम अगाडी बढाएको ५ वर्ष पार गर्दा पनि ५० प्रतिशतको हाराहारीमा मात्रै काम सम्पन्न हुदाँ सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्न पुगेको छ ।

पूर्वी खण्ड (गैँडाकोट दाउन्ने) का मुख्य बजार क्षेत्रमा एकतर्फी रुपमा करीब ४२ किलोमिटरको हाराहारीमा कालोपत्रे गरिए पनि यो खण्डको दाउन्ने पहाड र गैडाकोटको थुम्सीमा भने सडकको अवस्था निकै बिजोग देख्न सकिन्छ । दुवै खण्ड गरेर दाउन्ने पहाडको करिब १६ किलोमिटर सडक वर्षायाममा निकै संवेदनशिल मानिन्छ तर निमार्णको जिम्मा पाएको चाईना स्टेट ईन्जिनियरिङ करपोरेसनले काम भने यहि क्षेत्रमा निकै कम गरेको छ भने सडक बिस्तारका क्रममा भत्किएको सडक र सडकमा बनेका खाल्डाखुल्डी मर्मत नगर्दा दैनिक जस्तै दाउन्नेमा घण्टौ लामो सवारी जाम हुने गरेको छ ।

गैँडाकोटमा लगाएको मास्क कावासोती पुग्दा टाँसिएको धुलोले मास्कको रङ फेरिसकेको हुन्छ। पानी परेका दिन पनि यात्रुले हिलोको सास्ती खेप्नुपर्छ। सडक फराकिलो पार्दा बनेका खाल्डाखुल्डीमा सवारी फस्छन्। कहिले पहिरो झरेर जाम हुन्छ। सवारीका पाङ्ग्रा डुब्ने खाल्डाखुल्डीले यात्रालाई युद्ध होमिन गए जस्तो डरलाग्दो बनाइदिन्छ ।

गैँडाकोटबाट मोटरसाईकलमा बुटवल हिडेका विशाल पौडेलले जाँदा धुलोले ढाकिए । फर्किदा पानी पर्‍यो, हिलोमा डुबे जस्तो भए। गैँडाकोट देखि बुटवल पुग्दा ५ घण्टा बढि समय लागेको उनी बताउछन । ‘बुटवल जाँदा धुलो उडेर आकाशै धुलाम्मे थियो, आँखा हेर्न पनि मुस्किल,’ उनले भने, फर्किदा बर्दघाट कटेपछि २ ठाउँमा जाम भयो, सडक बनाउँदा परेका गहिरा खाल्डाखुल्डी र हिलोले तनाब दियो।’

गैँडाकोट थुम्सी काटे पछि मुख्य केही बजार क्षेत्र कालोपत्र भए पनि अन्य स्थानका सडक भने बिजोग नै छ । कावासोती-१६ को डण्डा बजार काटे पछि राजमार्गको निर्माण कार्यमा चरम लापरबाही र ढिलासुस्ती देख्न सकिन्छ। पुर्वी खण्डको दाउन्ने क्षेत्रमा पर्ने ३३ वटा कल्भर्ट मुस्किलले १४ वटामा काम भएको छ । दाउन्ने खण्डमा सवारी जाम हुने मुख्य कारण नै भत्काईएका पुराना कल्भर्ट हुन ।

यो विषयमा कुराकानी गर्न खोज्दा निर्माण कम्पनीको पुर्वी खण्डका सहायक ठेक्का व्यवस्थापक राकेश झा सम्पर्कमा आउन चाहेन्न । आयोजना निर्देशनालय पुर्वी खण्डका सूचना अधिकारी शिव खनालले निर्माण कम्पनीले सर्त अनुसार काम नगर्दा समस्या भएको बताए । निर्माण कम्पनीको लापरबाहीले दाउन्ने क्षेत्रमा समस्या भएको उनको भनाई थियो ।

यो सडक विस्तारको काम गर्न २०७५ माघ २४ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी सम्झौता गरेको पाँच वर्ष बितिसक्यो । विस्तारको काम शुरु गरिएको ४२ महिनाभित्र काम सक्ने गरी जिम्मा लिएको निर्माण कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा अहिलेसम्म दुईपटक म्याद थप गरेर काम गरिएपनि विस्तारको काम अझै अलपत्र छ ।

२०८० भदौ १२ मा पहिलोपटकको म्याद सकिएपछि दोस्रोपटक समय थप गरेर आयोजना पूरा गर्न २०८१ साउन ८ गतेसम्म पुर्‍याइएको भए पनि उक्त दोस्रोचरणको म्याद सकिन पनि करिब ४७ दिन बाँकी छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको पाँच वर्ष बितिसक्दा समेत हालसम्म निर्माणकार्य सम्पन्न हुन सकेको छैन ।

प्रकाशित : २०८१ जेठ २१ गते १९:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI