चितवन राष्ट्रिय निकुञ्ज आसपास र नवलपुरमा ११ महिनामा १० वटा बाघको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ २३ गते १५:२३
चितवन राष्ट्रिय निकुञ्ज आसपास र नवलपुरमा ११ महिनामा १० वटा बाघको मृत्यु

कावासोती । चितवन राष्ट्रिय निकुञ्ज आसपास र नवलपुरमा ११ महिनामा १० वटा बाघको मृत्यु भएको छ ।  चालु आ.वको १० महिनाको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा ७ वटा र नवलपुरको सामुदायिक वन क्षेत्रमा ३ वटा र्दुलभ पाटे बाघ मृत फेला परेका हुन ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मृत भेटिएका ७ वटा बाघ प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेश तिवारीले बताए । “निकुञ्जको कोर एरिया र मध्यवर्ती क्षेत्रमा मरेका ७ वटा बाघ प्राकृतिक कारणले मरेका हुन ।”, तिवारीले भने । उनका अनुसार पछिल्लो समय मृत फेला परेका बाघहरु आपसमा जुधने क्रममा घाइते भएर मरेका हुन । बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बासस्थानको रक्षा र आहाराको खोजीका क्रममा एक आपसमा जुध्ने गरेका तिवारीले बताए ।

तिवारीका अनुसार बाघको संख्या बढ्दा बासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन् । अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन् । चोरी सिकारी र बिरामी भएर यो वर्ष बाघ मरेका छैनन । बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उनले बताए । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गस्ती बढाएसँगै निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी सङ्ख्यामा मृत भेटिएका हुन् । गत आ.वमा  चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा ३ वटा पाटेबाघ प्राकृतिक कारणले मरेका थिए ।

 

 

नवलपुरमा ३ वटा बाघको मृत्यु

यसै बिच नवलपुरको सामुदायिक वन क्षेत्रमा चालु आ.वको ११ महिनामा ३ वटा वाटे बाघको मृत्यु भएको छ । नवलपुरको सामुदायिक वन क्षेत्रमा मृत फेला परेका ३ वटा बाघ मध्ये १ वटा बाघ प्राकृतिक कारणले मरेको हो भने अन्य २ वटा बाघको मृत्युको कारण प्राकृतिक नदेखिएको हो । फागुनमा मृत फेला परेका २ वटा बाघ मध्ये एउटा विषाक्त खाना र अर्को पासोमा परेर मरेको प्राररम्भिक अनुसन्धान बाट देखिए पनि ठोस कारण भने पत्ता लाग्न सकेको छैन । दुवै मृत बाघ बाट संकलन गरिएको नमूना विधिविज्ञान प्रयोगशाला पठाईएको भए पनि रिपोर्टमा मृत्युको कारण खुल्न भने सकेन । गत जेठ ९ गते विनयी खोलामा मृत फेला परेको बाघ अर्को बाघको आक्रमणले मरेको पुष्टि भए पनि गत फागुनमा मरेका अन्य २ वटा बाघको मृत्युको कारण अहिले सम्म पनि खुल्न सकेको छैन ।

प्रकाशित : २०८१ जेठ २३ गते १५:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI