हिलाम्मे सडक, यात्रुलाई सास्ती : निर्माण कम्पनीको म्याद थपाउन दौडधुप

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार २५ गते १७:००
हिलाम्मे सडक, यात्रुलाई सास्ती : निर्माण कम्पनीको म्याद थपाउन दौडधुप

कावासोती । निरन्तर वर्षाले नेपालको मुख्य राजमार्ग नारायणघाट बुटवलको यात्रा जोखिमपूर्ण बनेको छ। ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नु परिरहेको छ भने निर्माणको जिम्मा पाएको चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसन भने म्याद थपका लागि दौडधुपमा रहेको छ ।

वर्षातको भलले निर्माणाधिन सडक क्षत विक्षत बनाएको छ। पानी जमेका खाल्डाखुल्डीले सवारीसाधन चलाउन कठिनाइ भएको छ। सडक स्तरीय नहुँदा पैदलयात्रीलाई झन समस्या भएको छ। सामान्य मर्मत गर्नसमेत कसैको ध्यान पुगेको देखिन्न। सडककै कारण सवारीसाधन जाममा पर्ने गरेको चालक बताउँछन्। सडक निर्माणमा जति ढिलासुस्ती भयो उति समस्या लम्बिँदै जाने उनीहरुको भनाइ छ।

मनसुन सक्रिय भएपछि नारायणघाट बुटवल सडकमा यात्रा गर्न थप कष्टकर बनेको छ। २०७५ को चैतमा सुरु भएको उक्त सडक विस्तार तथा स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ।

वर्षात्मा ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा आयोजना कार्यालय र निर्माण कम्पनीप्रति स्थानीवासी रुष्ट छन्। सोही सडकका कारण नारायणघाट देखि बुटवल सम्मको यात्रा झञ्झटिलो र लामो बनेको यात्रुको गुनासो छ।

थपिएको म्याद समेत गरेर महिना काम गर्दा समेत स्तरोन्नतिको चरणमा रहेको नारायणघाट बुटवल सडकको पुर्वी खण्डको भौतिक प्रगति ५२ प्रतिशत मात्रै पुगेको आयोजना निर्देशनालय को पुर्वी खण्ड हेर्ने कार्यालयले जनाएको छ ।

यसै बिच मंगलबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सरोकारवालाहरुको बैठकले तत्काल चोरमारा बजारको पुर्वी क्षेत्रमा हिलाम्मे सडकको मर्मत गर्ने गरि निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

निर्माण कम्पनी र आयोजना निर्देशनालयका प्रतिनिधि बोलाएर बसेको जिसस प्रमुख, स्थानिय तहका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, निर्माण कम्पनीका प्रतिनिधि सहितको बैठकले तत्काल चोरमाराको पुर्वी क्षेत्रमा निकै समस्या भएको हिलाम्मे सडकको मर्मत सुरु गर्ने तथा गैँडाकोटदेखि दाउन्नेसम्म विभिन्न ठाउँमा रहेका खाल्डाखुल्डी सात दिनभित्र पुर्ने निर्णय समेत गरिएको हो ।

जनप्रतिनिधि र स्थानिय प्रशासनले ले पटक पटक बिग्रेको सडक मर्मत गर्न निर्देशन गर्दा पनि अटेर गरेको गुनासो स्थानियबासीले गरे पछि जनप्रतिनिधि र स्थानिय प्रशासनले निर्माण कम्पनीका प्रतिनिधिलाई राखेर तत्काल निर्माणको काम अगाडि बढाउन निर्देशन दिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताए ।

समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले सडक निर्माण पूरा गर्न अझै एक वर्ष समय थप माग गरेको आयोजना निर्देशनालयले जनाएको छ ।

म्याद थपको विषयमा परामर्श दाता कम्पनी को राय अनुसार छलफल चलेको भए पनि निर्णय भै नसकेको आयोजना निर्देशनालयको पुर्वी खण्ड हेर्ने कार्यालयका प्रमुख आशिष् मगरले बताए । “म्याद थप गर्ने भन्ने विषयमा परामर्शदाता र हामी मिलेर छलफल गरिरहेका छौँ” उनले भने, “कति समय थपिन्छ टुङ्गो लागि सकेको छैन ।”

प्रकाशित : २०८१ असार २५ गते १७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI