नवलपुरमा धार्मिक पर्यटन विकास समिति बन्ने

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन १७ गते २१:५८
नवलपुरमा धार्मिक पर्यटन विकास समिति बन्ने

कावासोती । नवलपुर जिल्लाको धार्मिक पर्यटनको विकास गर्नका लागि धार्मिक पर्यटन विकास समिती बन्ने भएको छ ।

जिल्ला समन्वय समिती ( जिसस) नवलपुर को आयोजनामा बिहीवार कावासोतीमा आयोजित भेलाले धार्मिक पर्यटन विकास समिती बनाउने निर्णय गरेको जिसस प्रमुख बाबुराम बिश्वकर्माले बताउनु भयो । ” आज जिल्ला स्थित सबै धाम , मन्दिर , मस्जिद , गुम्बा र चर्चका प्रतिनिधिहरु संग बृहद् छलफल गर्‍यौं , अब सबै पालिकाको प्रतिनिधित्व हुने गरि विकास समिती बनाउँछौं ।” विश्वकर्माले भन्नुभयो ।

नवलपुर जिल्लामा धार्मिक पर्यटनको प्रचुर संभावना रहेको बताउँदै प्रमुख विश्वकर्माले यसलाई अब समितिनै बनाएर विकास गर्न लागि पर्ने बताउनु भयो । उहाँले भन्नू भयो , ” हामी कहाँ राष्ट्रिय स्तरमा चर्चित त्रिवेणी गजेन्द्रमोक्ष धाम , मौलाकालिका मन्दिर , दाउन्नेको देबि मन्दिर , गुम्बा लगायत थुप्रै धार्मिक आस्थाका केन्द्र छन् , अब यसको व्यापक प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्राउनु पर्छ । ”

कार्यक्रममा त्रिवेणी गजेन्द्रमोक्ष धाम क्षेत्र विकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्यले नवलपुर जिल्लाको धार्मिक पर्यटन विकासका लागि स्थानिय सरकारले लगानी बढाउन पर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटनको प्रचुर संभावना रहेको नवलपुर जिल्लामा धार्मिक क्षेत्रहरु राज्यको प्राथमिकतामा नपरेको भन्दै आगामी दिनमा यस क्षेत्रमा लगानी बढाउन सके आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र नवलपुर बन्ने बताउनु भयो ।

पछिल्लो समय आफ्नो मौलिक धर्म परिवर्तन गर्ने होडबाजी चलेकोमा चिन्ता ब्यक्त गर्दै स्वामी प्रपन्नाचार्यले ‘ धर्म छाडा ‘ नबन्न सबै संग आग्रह गर्नु भयो । ‘ हामिले परापुर्ब काल देखि मान्दै आएको हाम्रो धर्म छाड्न हुँदैन , यसो गर्दै गए धार्मिक पर्यटन पनि ओझेलमा पर्दै जान्छ । सबैले आफ्नो आफ्नो धर्म मानौं , जबर्जस्ती धर्म परिवर्तन गराउनु अपराध हो ।” उहाँले भन्नू भयो ।

स्वामी प्रपन्नाचार्यले आफ्नो धर्म परिवर्तन गरेर हिंडेकाहरुलाई धार्मिक गुरु मान्न नसकिने भन्दै उनिहरु संग सहकार्य पनि कठिनाई हुने बताउनुभयो । धार्मिक पर्यटन बिकास समिति बनाउने कुरा सकारात्मक भएको उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला स्थित विभिन्न धार्मिक सम्प्रदायका प्रतिनिधिहरु , होटल ब्यबसायी संघका जिल्ला अध्यक्ष सन्तोष राना , पर्यटन ब्यवसयी समिती नवलपुरका अध्यक्ष फन्सराम महतो , होमस्टे एशोशियशन का अध्यक्ष प्रेम शंकर मर्दनिया लगायतले बोलेका थिए ।

प्रकाशित : २०८१ साउन १७ गते २१:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI