चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको कन्तबिजोग

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ १८ गते १५:४७
चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको कन्तबिजोग

सन्जय भट्टराई, कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको अवस्था भने दिनानुदिन बिजोग हुदैँ गएको छ । मर्मत र स्तरोन्नतिका निम्ति गैँडाकोट देखि बुटवल सम्मको सडक भत्काईएको ६ वर्ष सम्म पनि काम सम्पन्न नहुदाँ यस पटकको चाडपर्वमा यो सडक भएर यात्रा गर्ने यात्रुले निकै सास्ती भोग्नु पर्ने देखिएको छ । सरकारी तथ्यांक अनुसार गत वर्ष दशैँ तिहारमा यो बाटो भएर १० लाख बढि यात्रुले यात्रा गरेका थिए ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेको उक्त सडक निर्माणको ठेक्का चिनको सरकारी कम्पनी चाईना स्टेट ईन्जिनियरिङ करपोरेसनले लिएको छ । तर, ६ वर्षदेखि सडक अलपत्र हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । यो आयोजनामा हालसम्म पटक पटक गरेर तीनपटक म्याद थपिएको भए पनि सडकको भौतिक प्रगति ५२ प्रतिशत मात्रै रहेको छ । गत साउनमा मात्र एक वर्षका निम्ति म्याद थप गरिएको भए पनि निमार्ण कम्पनीले काम गर्ने गति भने निक्कै सुस्त छ ।


गत आईतबार मन्त्रालयका सचिव र विभागीय प्रमुख सहित सडक आयोजना अनुगमन गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थपिएको समयमा पनि काम नसकिए निर्माण कम्पनीसँगको ठेक्का तोड्ने बताए । “सडक क्रोनिक हुने अवस्थामा छ, एक वर्षको म्यादभित्र काम नसकिए ठेक्का तोड्छौँ,” उनले भने, “देशकै लाइफलाइन मानिएको सडकमा जनताले धेरै नै दुःख पाएका छन् । बर्खालगत्तै कामको गति तीव्र बनाउन निर्माण कम्पनीलाई भनिएको छ ।” सरकारका तर्फबाट कुनै समस्या नरहेको र भुक्तानी समेत ठेकेदारले कार्यप्रगतिका आधारमा लिइरहेको मन्त्री दाहालको भनाइ छ । विदेशी कम्पनीले भन्दा बरु नेपाली निर्माण व्यवसायी भएको भए राम्रो काम गर्थे कि भन्ने बारेमा समेत सोच्न बाध्य भएको मन्त्री दाहालको भनाई थियो ।

कुल ११३ किलोमिटर लामो सडक मा ७० किलोमिटर चार लेन र २९ किलोमिटर दुवैतर्फ ६–६ मिटर सर्भिस लेन हुने गरि निर्माण भइरहेको छ । दाउन्नेको १४ किलोमिटर भने तीन लेनको सडक हुनेछ । निर्माण थालेपछि निमार्ण कम्पनीले कोभिड–१९ देखाएर काम गरेको थिएन भने सरकारको तर्फबाट गर्नु पर्ने साइट क्लियरेन्स, वनको रुख काट्न स्वीकृति जस्ता काममा ढिलाइ भएकाले काम समयमै सम्पन्न गर्न नसकिएको निमार्ण कम्पनीको दाबी छ । निमार्ण कम्पनीले थप दुई अर्ब रुपैयाँ दाबी गर्दै काम ठप्प पारेपछि सरकारले ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदार कम्पनीले यो सडकमार्गमा आफूलाई सात अर्ब घाटा भइसकेको र पैसा नभएको भन्दै काम ठप्प पारेको थियो । सरकार र स्थानिय ले दबाब बढाउदै गए पछि अहिले निमार्ण कम्पनीले पूर्वी खण्डको गैँडाकोट बजार क्षेत्रमा करिब २ किलामिटर कालो पत्रे गरेको छ भने बेस तयार भएका चोरमारा र अरुणखोला क्षेत्रमा काम सुरु गर्ने जनाएको छ ।

उक्त कम्पनीसँग सम्झौतामा ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ उल्लेख छ । लागतको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)को ऋण र १५ प्रतिशत सरकारको लगानीमा सडक विस्तार भइरहेको हो । एडीबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको थियो ।

प्रकाशित : २०८१ भदौ १८ गते १५:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI