विकासकर्मीहरूको १०० दिने “सकारात्मक सत्सङ्ग”!

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २२ गते ८:०८

चेतनाथ कणेल “हरित”

कोरोना कहर (कोभिड १९) विश्वभर बढ्दै जाँदा नेपालमा पनि छिटपुट घटना देखिन थालेका थिए। २०७६ को चैत महिनाको पहिलो हप्तादेखि नै हामी क्रमशः बढी त्रसित बन्दै थियौं। चैत ११ गतेका दिनदेखि सरकारले देशभर नै लकडाउन घोषणा गर्‍यो। आज असार २२ सम्म आइपुग्दा नेपाली लकडाउनले साढे ३ महिना अर्थात् १०५ दिनबाट उकालो लागेको छ। साउन ७ सम्म हामी लकडाउनमा नै रहने छौं। पछिल्लो समय केही खुकुलो भए पनि घुमाइ, डुलाइ, यात्रा, सामूहिक जमघट, भेला, भोज, भौतिक गोष्ठी, आदिले पुरानो रूप पाउन अझै कति दिन लाग्ने हो त्यो हेर्दै जानुको विकल्प हामीसँग छैन। साउन ७ पछिको लकडाउन पनि कहाँसम्म पुग्ने हो त्यो पनि अनिश्चितजस्तै छ। कतिबेला कोरोना कहाँ जाग्छ र उर्लिन्छ त्यसको केही टुंगो छैन। हाम्रा कर्मचारी, विद्यार्थी, शिक्षक, सार्वजनिक यातायात र सवारी साधनका चालक तथा सहचालकहरू (टेम्पोदेखि विमानसम्म) कति समय अझै लकडाउनका पीडित हुने हुन् अनिश्चितताको गर्भमा नै छ।

नेपालको विकास प्रक्रिया साह्रै सेलाएको छ। वर्षभरका लागि छुट्याएको विकास बजेट ५० प्रतिशत पनि खर्च नहुने हो कि भन्ने सरकारी चिन्ता व्याप्त छ। पोहोर परारजस्तो “असारे विकास” पनि यसपटक गर्न नमिल्ने भयो। कोरोना कहरले सर्वत्र थिच्यो। जसले गर्दा विकासकर्म सेलायो। विकासकर्मी लकडाउनमा परे। साँचो अर्थमा विकास प्रक्रिया नै लकडाउन र तहसनहसमा पर्‍यो। तैपनि, घरघरमा कैद भएका विकासकर्मीहरूले लकडाउनको समयलाई रचनात्मक र सकारात्मक कार्यमा लगाउने, आद्यात्मिक चिन्तन र योग-ध्यानका साथ मानसिक स्वस्थता बढाउने, आपसी अनुभव र अनुभूति साटासाट गर्ने, आपसी मित्रता र सान्निध्य बढाउने आदि विविध सोचका साथ कोरोना लकडाउन सुरु भएको करिब एक हप्तापछि नै सकारात्मक सोच विकासका अभियन्ताद्वय डा. ध्रुव आचार्य र सहदेव महतले केही साथीहरूसँग कुराकानी गरी घरघरमै बसे पनि इन्टरनेट भिडियो (जुम) का माध्यमबाट जोडिएर दैनिक करिब एक घण्टा योग साधना र ध्यान चिन्तनमा लीन रही लकडाउन अवधिलाई उपलब्धिमूलक र सहज बनाउने प्रस्ताव आयो। एक, दुई, तीन, चार, पाँच, आदि गर्दै दुई-तीन दिनमा नै करिब दर्जन सहभागी भए। त्यो संख्या अहिले करिब ३० प्लसको छ।

अधिकांश विकासकर्मीको जमात, कतिपय व्यक्ति न्याय सेवा, व्यापार व्यवसायबाट पनि सहभागी हुनुभएको छ। केही नागरिक समाजका अभियन्ताहरू, लेखक तथा चिन्तकहरू, तथा समाजसेवीहरू पनि थपिनुभएको छ। यस “सकारात्मक जुम सत्सङ्ग” मा करिब दुई दर्जन व्यक्ति नियमितरूपले जोडिने गर्नुहुन्छ। आफ्नो समय र प्रविधिले साथ दिँदा कहिलेकाहीँ आउने  करिब दर्जन अन्य सदस्यहरू पनि हुनुहुन्छ। कोरोना कहरबीच जुममा आधारित सकारात्मक सत्सङ्ग दिनहुँ चल्न थालेको आज (असार २२ गते) ठ्याक्कै १०० दिन पुग्यो।

सय दिनको सुखद् अवसर र मूल उपलब्धि

आज शतदिवसीय अपूर्व अवसर। जुमको निःशुल्क सेवा, दैनिक ४० मिनट, नित्य करिब दुई दर्जन विकासकर्मीको रमाइलो “जुम उत्सव, भर्चुअल भेट”। सहजकर्ता (होस्ट) द्वय डा. आचार्य र महतको सहजीकरणमा चल्ने अपूर्व जुम भेला, एउटा आध्यात्मिक अनि विकासमूलक जमघट। म पनि यस सत्सङ्गको एक सदस्य। कतिपय सत्सङ्गी मभन्दा वरिष्ठ हुनुहुन्छ, कतिपय मेरै हाराहारीका त कतिपय मभन्दा कनिष्ठहरू पनि हुनुहुन्छ। यथार्थमा यो एउटा असल फूलबारी बनेको छ। फूलबारीमा धनकुटा, सुनसरी, काठमाडौं उपत्यका, पोखरा, बर्दियामात्र नभएर अष्ट्रेलिया, जापान र अमेरिकामा बसिरहनुभएका नेपाली साथीहरू पनि जोडिन आइपुग्नुहुन्छ। करिब एक चौथाइ संख्या महिलाको छ। सत्सङ्गमा सहभागी हुनेहरूको नाम लिनुपर्दा माथि उल्लिखित दुई सहजकर्ता, म स्वयं, अश्विन पुडासैनी, नारायण जोशी, सीता खतिवडा, द्रौपदी सुवेदी, योगमाया सापकोटा, शरु जोशी श्रेष्ठ, टंक पन्त, रामगोविन्द मानन्धर, सुनील शर्मा, टेक क्षेत्री, केपी यादव, नवराज बराल, रुपेन्द्र महर्जन, अर्जुन तामाङ, गोपाल तामाङ, होमनाथ अधिकारी, शिवशंकर डंगोल, काशी पौडेल, राजन पौडेल, कमल पौडेल, डा. सुमित्र मानन्धर गुरुङ्ग, डा. कुमार शर्मा आचार्य, शरच्चन्द्र वस्ती, श्रीकृष्ण अनिरुद्ध गौतम, नम्रता शर्मा, खगेन्द्र सिक्तेल, तिलक पाण्डे, रविनारायण खनाल, शान्ति खनाल, गीता पौडेल हुनुहुन्छ। साथै फाटफुट आउनेमा फटिक थापा, डा. गणपति ओझा, श्रीधर लामिछाने, डा. केशवराज कणेल, दशरथ मोक्तान, टीकादास श्रेष्ठ, मीना कुँवर, उषा मल्ल सिंह, कोमल धमला, त्रिभुवन पौडेल, नीलकण्ठ पौडेल, राधाकृष्ण लामिछाने, रविन्द्र शाक्य, पुस्तकनारायण जोशी, पुराण गुरुङ, सूर्य गुरुङलगायतका हुनुहुन्छ ।  

सत्सङ्गी सबैजना सक्रिय हुनुहुन्छ। आआफ्ना अनुभव, विचार, मत–अभिमत राख्नुहुन्छ। हरेकले पालोपालो आफ्ना कुरा राख्ने चलन छ। र, हरेक दिन (वा विशेष दिवस, पर्व) को के महत्व छ र उक्त दिनले हाम्रो जीवनमा के अर्थ र महिमा राख्दछ भनेर पनि छलफल हुन्छ । प्रत्येक दिन साँझ ५ बजे (लामा दिन भएपछि भने पछिल्लो समय ६ बजे गर्न थालिएको) आआफ्ना घरबाट कम्प्युटर वा मोबाइल वा आइप्याडबाट जोडिने सिलसिला सुरु हुन्छ। सञ्चालक डा. ध्रुव आचार्यले सत्सङ्ग आरम्भ गर्नुहुन्छ। “आजको सकारात्मक सन्देश र अनुभव के छ?’, यो प्रश्न डा. ध्रुवले हरेक दिन प्रारम्भमा राख्नुहुन्छ। अझ कहिलेकाहीँ त चिन्तनका लागि ‘होमवर्क’ पनि दिनुहुन्छ। अनि सिलसिलाको श्रीगणेश हुन्छ आआफ्ना कुरा भन्ने, अनुभव सुनाउने-सुन्नेबाट । हल्का रमाइलो ठट्टा गर्ने, अनि कसैले कविता र गीत सुनाउने, कसैले मुक्तक र नीतिकथा सुनाउने काम पनि हुन्छ। खासगरी गोपाल तामाङ्गको गीत, टंक पन्तको भजन, नारायण जोशी (मामा) को हल्का रमाइलो सुन्न सबैजना लालायित हुन्छन्। अझ आद्यात्मिक चिन्तनको लेपनससहितको दर्शनशास्त्रीय विचार ल्याउन आतुर देखिनुहुन्छ शरच्चन्द्र वस्ती। मिठो गरी चटनी थप्नुहुन्छ डा. कुमार शर्मा आचार्य, डा. सुमित्र मानन्धर, खगेन्द्र सिक्तेल र नम्रता शर्मा। अश्विन पुडासैनी र म बेलाबेलामा समसामयिक समाज र प्राज्ञिक एवं विकासमूलक कुरा ल्याउँछौं, आफ्ना विकासयात्रा र प्रशिक्षणका अनुभव सुनाउँछौं। शरु जोशी श्रेष्ठको नारी उत्थानसम्बन्धी गहन अनुभव पनि यहाँ सुन्न पाइन्छ, सीता खतिवडाको समाजसेवाको लामो अनुभव पनि सुन्न पाइन्छ। उता अष्ट्रेलियाबाट सुनील शर्मा र राजन पौडेलले बेलाबेलामा त्यताका अनुभव सुनाउँदै आफ्ना निजी विचार पनि राख्नुहुन्छ। तिलक पाण्डेले नीतिकथामा जोड दिनुहुन्छ भने होमनाथ अधिकारीले बर्दियाबाट आफ्नो पन्ध्र वर्ष लामो नियमित ध्यान–योगको अनुभव सुनाउने गर्नुहुन्छ ।

यसरी उपस्थित हुने प्रत्येक व्यक्तिका आआफ्नै विशेषता छन्, विशिष्टता छन्, अनुभवका खानी छन्, जुन हरेक सहभागीका लागि ‘म्युचुअल हिसाबले काम लाग्ने हुन्छन् ।  यो आदानप्रदान आफैंमा साह्रै आनन्ददायक हुन्छ। कतिपय साथीहरू धेरै बोल्न रुचाउनुहुन्न, तर कम बोलेरै पनि सबैभन्दा बढी आनन्द उहाँहरूले उठाइरहेको भान हुने गर्छ । हरेक दिन यो आरम्भिक सत्सङ्गीय विचार बहस करिब १५ देखि २० मिनट चल्छ ।

र, कार्यक्रमको सबैभन्दा महत्वपूर्ण समय पछिल्लो २० मिनट हुने गर्छ। यसमा ध्यान गरिन्छ। ध्यानको सहजीकरण सहदेव महत (गुरु) ले गर्नुहुन्छ। यसमा अन्तर्मनको यात्रामा रमाउने अभ्यास, शान्त रहने अभ्यास, चिन्तन गर्ने अभ्यास, स्मरण अभ्यास, आभार प्रकट (धन्यवादिता) र क्षमादान तथा क्षमाप्रार्थनाको अभ्यास, श्वासप्रश्वासको अभ्यास आदि गरिन्छ। मनमा सकारात्मक भाव ल्याउन, चिन्ता हटाउन, आशावादिता जगाउन योग र ध्यानको ठूलो महत्व छ। यही महत्वलाई आत्मसात गर्दै  एक असल गुरुका साथ ध्यानाभ्यास गर्न पाउनु हाम्रा लागि साढे ३ महिनाको यो  लकडाउन (बन्दाबन्दी) अवधिको “१०० दिने सकारात्मक सत्सङ्ग” एउटा ठूलो उपलब्धि भएको छ। हामी हरेक सहभागी अब प्रत्येक दिन ध्यानमा हराउने अभ्यासमा अभ्यस्त भएका छौं। एक दिन कारणवश छुट्न गयो भने के के न छुटेको भान हुनु भनेको एउटा ठूलै साधनाको प्राप्ति र बानीमा बदलिएको सीपको उपलब्धि हो भन्ने लाग्छ।

उपसंहार

सकारात्मक सत्सङ्गको १०० दिने समीक्षा गर्ने क्रममा सबै सहभागीले सत्सङ्ग योग–ध्यान अति नै लाभदायी भएको, मानसिक शान्तिका हिसाबले बहुपक्षीय लाभ प्राप्त भएको, नयाँ नेटवर्किङ्ग बढेको, लकडाउनको समय व्यवस्थापन गर्न धेरै सहज भएको, पछिल्लो समय दैनिक जीवनका धेरै कुरा होशपूर्वक गर्न थालिएको, गुणस्तरीय समय परिवारलाई कसरी दिने भन्ने कुरामा अधिक जिम्मेवार बनेको, आफ्नो (म को?) पहिचान आफैं खोज्न थालिएको, आफ्ना अग्रज, प्रेरक र गुरुहरूलाई सम्झी–सम्झी आभार प्रकट गर्ने अभ्यास बढेको जस्ता दर्जनौं सकारात्मक कुराहरू सुनाउनुभयो। एउटा भनाइ छ, दैनिक ५–७ जना राम्रा व्यक्तिसँग सुसङ्गतका साथ कुराकानी गर्ने हो भने बुढेसकालमा पनि ५–७ वर्ष जवान बन्न सकिन्छ, फूर्ति आफैं भित्र्याउन सकिन्छ । यस्तो सत्सङ्ग जवान, अद्र्धजवान, युवा बृद्ध, बृद्ध, ज्येष्ठ वृद्ध सबै–सबैका लागि अति उपयोगी हुने कुरामा संशय रहन्न नै। मसँग सबै सत्सङ्गीहरू सहमत हुनुहुन्छ भन्ने ठान्छु। हिजोमात्र हामीले गुरुपूर्णिमा मनाएका छौं, यस अवसरमा फेरि पनि सकारात्मक सत्सङ्गका आदरणीय गुरुद्वय डा. ध्रुव आचार्य र श्री सहदेव महतप्रति असीम आभार र कृतज्ञता प्रकट गर्नु हाम्रो कर्तव्य ठान्दछौँ। मैले सबै सत्सङ्गी साथीहरूको पनि प्रतिनिधित्व गरेको छु यहाँ। र, लकडाउनपछि पनि यो सकारात्मक जुम सत्सङ्गलाई निरन्तरता दिनुपर्ने कुरामा कसैको दुईमत छैन। अरु विकासकर्मी, मिडियाकर्मी, सष्टाहरू र तमाम खालका व्यक्तिका लागि यस्तो “ज्ञान र ध्यानमिश्रित सकारात्मक सामूहिक सत्सङ्ग” अति जरुरी छ। पछिल्लो प्रविधिले हामीले हामी सबैलाई राम्रो साथ दिएको छ। धेरै धन्यवाद। अस्तु !!

श्रृङ्गा गुल्मी, हाल– नयाँबानेश्वर, शंखमूल, काठमाडौँ ३१

सुझावका लागि:- [email protected]

लेखकबाट थप:-

प्रकाशित : २०७७ असार २२ गते ८:०८
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI