चितवनका कुखुरामा ‘एच नाइन’ संक्रमण पुष्टि, ६ हजार भन्दा बढी कुखुरा मरे

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २१ गते १४:५९
चितवनका कुखुरामा ‘एच नाइन’ संक्रमण पुष्टि, ६ हजार भन्दा बढी कुखुरा मरे

चितवन, २१ असोज । चितवनका कुखुरामा ‘एच नाइन’ संक्रमण देखिन थालेको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नं–६ स्थित केशरबागमा कुखुरा मर्न थापछि गरिएको परीक्षणको क्रममा ‘एच नाइन’ देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले जानकारी दिएको छ ।

 

केशरबागका खेमराज पाठकले पालेको कुखुरा मर्न थालेपछि सुरुमा परीक्षण बिनै ‘एच नाइन’ भनिएको भएपनि किसानको दबाब पछि गरिएको परीक्षणले ‘एच नाइन’ पुष्टि गरेको थियो । सुरुमा उक्त किसानको खोरबाट लगिएको नमुना भरतपुरमा परिक्षण गर्दा शंकास्पद देखिएपछि काठमाडौं पठाईएको थियो । काठमाडौंमा गरिएको परीक्षणमा भने ‘एच नाइन’ नै देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले जानकारी दियो ।

 

अहिले सम्म केशरबागका किसान पाठकको ६ हजार भन्दा बढी कुखुरा मरेका छन् । लेयर्स जातका कुखुरा पटकपटक गरी मरेका थिए । पाठकका अनुसार आठ हजार कुखुरा पालिएकोमा छ हजारभन्दा बढी कुखुरा मरेका हुन् । उनले खोरमा रहेका अन्य कुखुरा पनि मर्ने क्रम जारी रहेको बताए ।

यता विज्ञ केन्द्रका प्रमुख डा. दयाराम चापागाईंले ‘एच नाइन’ रैथाने जस्तो रोग बनेको बताए । उनले अहिले मरेको कुखुरा बर्ड फ्लु नै नभएको तर बर्ड फ्लुको प्रजाति रहेको बताए । उनका अनुसार यो रोगलाई बर्ड फ्लुको एउटा रुप भन्न मिल्छ तर वास्तविक बर्ड फ्लु एच फाइभ हो ।

कुखुरापालक किसान खेमराज पाठकले भने आफ्नो कुखुरामा बर्ड फ्लु देखिएको दाबी गरेका छन् । उनले भने, ‘जिल्लामा भएको परीक्षणमा बर्ड फ्लु नै देखिएको थियो, तर पुनः परीक्षण भन्दै काठमाडौँ पठाइयो, त्यहाँ बर्ड फ्लु होइन एच नाइन हो भनियो ।

 

प्रकाशित : २०७७ असोज २१ गते १४:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI