धौवादीमा सीईओ र अध्यक्ष फेरिएको फेरियै

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १७ गते १२:२९
धौवादीमा सीईओ र अध्यक्ष फेरिएको फेरियै

पूर्वी नवलपरासी — राष्ट्रिय महत्त्वको धौवादी फलामखानी कम्पनी लिमिटेड गठन भएको एक वर्षमै तीन जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेरिएका छन् । सञ्चालक समिति अध्यक्ष पनि दुई जना फेरिइसकेका छन् । जसकारण फलाम उत्पादनको कामले गति लिन नसकेको गुनासो आएको छ ।

सरकारले २०७६ मंसिरमा कम्पनी गठन गरेको थियो । त्यति बेला कम्पनी गठन हुँदा सोमनाथ सापकोटा थिए । त्यसपछि कृष्णदेव झा र अघिल्लो साता मात्रै जनकबहादुर चन्द सीईओ नियुक्त भएका हुन् । कारखाना निर्माण गरेर उत्पादन थाल्न जग्गा खोज्नुपर्ने भए पनि चासो देखाइएको छैन ।

कारखाना स्थापनाका लागि हुप्सेकोट, लोकाह र चोरमारा खोलाको किनार उपयुक्त हुने राय दिइए पनि काम अघि नबढेको खानी तथा भूगर्भ विभागले बताएको छ । फलाम खानी सञ्चालक समितिमा जिल्लाबाटै नियुक्ति गरे कामले गति लिने भनिए पनि नेकपाभित्र कुरा नमिल्दा सरकारले सहसचिव तहका व्यक्तिलाई सञ्चालक समितिको अध्यक्ष तोक्दै आएको छ । समिति अध्यक्षमा पहिला शोभाकान्त पौडेल रहेकामा अहिले नारायणप्रसाद रेग्मी छन् । यस विषयमा उद्योगमन्त्री भट्टसँग सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् ।

जिम्मेवारी पाएको दुई दिन मात्र भएको र फलामखानीको कामको प्रगति विवरण संकलनमा लागिरहेको नवनियुक्त सीईओ चन्दले प्रतिक्रिया दिए । खानीबाट छिटो फलाम उत्पादन गर्न सबै जोड लगाउने उनको प्रतिबद्धता छ । ‘सक्दो छिटो साइट भिजिट गर्छु । उत्पादन प्रक्रियालाई पनि छरितो बनाउँछु,’ उनले भने ।

बाढीपहिरोविज्ञलाई सीईओ

पछिल्लो पटक उद्योगमन्त्री लेखराज भट्टले बाढीपहिरोविज्ञलाई सीईओ नियुक्त गरेका छन् । खानी तथा भूगर्भ विभागमा विषयगत विज्ञ हुँदाहुँदै आफू निकटका जनकबहादुर चन्दलाई सीईओ बनाएपछि विभागमा असन्तुष्टि बढेको बताइएको छ । विषयगत विज्ञभन्दा बाहिरका व्यक्तिलाई सीईओको जिम्मेवारी दिइएपछि फलाम खानी अन्वेषणमा खटिएका कर्मचारीले विभागबाट उद्योग मन्त्रालयमा जान निवेदन दिएको स्रोतको दाबी छ ।

२०६८ देखि नै धौवादी फलामखानीको अन्वेषणमा खटिएका विज्ञले चन्दलाई ल्याइएपछि असन्तुष्टि जनाएका हुन् । यस्तो अवस्थामा फलाम उत्पादनको कामले गति नलिने एक कर्मचारीले बताए । चन्दलाई मन्त्री भट्टले माघ ९ मा सीईओको जिम्मेवारी दिएका हुन् ।

कारखाना स्थापना गर्न कम्तीमा डेढ सय बिघा जग्गा चाहिन्छ । चालु आर्थिक वर्षको बजेटमा फलाम खानीका लागि ५० करोड रकम विनियोजन गरिएको छ ।

उक्त रकमले कारखाना सञ्चालनका पूर्वाधार, सडक, बिजुलीलगायतका काम सुरु गर्नुपर्नेमा कुनै पनि अघि बढेको छैन । फलामखानीसम्म पुग्ने सडक निमार्णको काम अघि बढे पनि तीव्रता पाएको छैन । गिरुबारीदेखि फलामखानी पुग्ने कच्ची सडक निर्माण सुरु भएको तीन वर्ष बित्दासमेत सकिएको छैन ।

नवलपुरको धौवादी फलामखानीको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म शुद्ध फलाम प्राप्त गर्न सकिने चिनियाँ प्रयोगशालाले प्रमाणित गरेको छ । फलामको उत्पादनबारे चीनमा गरिएको परीक्षणले खानीबाट उत्पादित फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूभर्ग विभागले जनाएको छ । खानीमा कति परिमाणमा फलाम छ भन्ने यकिन गर्न ड्रिलिङको काम भइरहेको छ । त्यसको प्रतिवेदन आएपछि परिमाणबारे यकिन हुने विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । खानी पूर्व–पश्चिम राजमार्गको डन्डा बजारबाट २४ किमि उत्तरमा पर्छ ।

प्रकाशित : २०७७ माघ १७ गते १२:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI