गण्डकी सरकारले ४ गते विश्वासको मत लिने, त्यसपछि मात्रै बजेटमा छलफल

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २ गते १२:०१
गण्डकी सरकारले ४ गते विश्वासको मत लिने, त्यसपछि मात्रै बजेटमा छलफल

पोखरा । शनिबार गठित नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेतृत्वको चार दलीय गठबन्धन सरकारले ४ गते विश्वासको मत लिने भएको छ । सरकारका तर्फबाट मुख्यमन्त्री आफैले मंगलबार प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल त्यसपछि मात्र सुरु हुने भएको छ ।

सरकारका प्रवक्ता कुमार खड्काका अनुसार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै दर्ता भइसकेको छ ।संविधानको धारा १६८ (५) अनुसार बनेको सरकारले उपधारा ६ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

संयुक्त गठबन्धनमा स्वतन्त्र एक सांसदसहित ३१ सांसदको समर्थनले बनेको सरकारले विश्वासको मत लिएपछि मात्रै बजेटको छलफल सुरु गर्ने छ । कुल ६० सदस्यीय गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछी सांसद संख्या ५९ कायम भएको छ ।

मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि अहिलेको स्थितिमा ३० सांसदको विश्वास प्राप्त गरे पनि हुन्छ ।

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदको कार्यविभाजन, विस्तार हुने प्रवक्ता खड्काले जानकारी दिए ।

प्रकाशित : २०७८ असार २ गते १२:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI