मनाङे र आचार्यले लिए मन्त्रालय

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २७ गते १४:०३
मनाङे र आचार्यले लिए मन्त्रालय

एक महिना अघि बिना विभागीय मन्त्रीको सपथ खाएका जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) कार्य जिम्मेवारी लिन राजी भएका छन् । योसँगै सत्ता समिकरणमा देखिएको विवाद केही मत्थर भएको छ । आचार्य ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बने भने मनाङे युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिन राजी भएका छन् । यसअघि आचार्यले अर्थमा दाबी गरेका थिए भने मनाङेको दाबी भौतिक पूर्वाधारमा थियो ।
योसँगै गण्डकीका सबै बिना विभागीय मन्त्रीले कार्य जिम्मेवारी पाएका छन् । यसअघि कांग्रेसका कुमार खड्का शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनेका छन् भने माओवादीकी मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् । गण्डकीमा बजेट पास हुनुअघि सरकार विस्तार नगर्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यसअघि नै बताइसकेका छन् । सरकार बनेको १ महिना पुग्नै लाग्दा समेत मन्त्री मण्डलले पूर्णता नपाउँदा सरकारको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ । खासगरी अर्थ र भौतिक पूर्वाधार विकास मन्त्रीमा कुरा नमिल्दा सरकार विस्तार अड्किएको हो ।
भौतिक पूर्वाधारमा कांग्रेस र माओवादी दुवैले दाबी गरेका छन् । यसअघि अर्थ मन्त्रालयमा जसपाको दाबी थियो । अर्थ र भौतिक प्रदेशमा मिल्न नसकेपछि यसको विभाजन केन्द्रीय नेतृत्वलाई छोडिएको छ । बजेटमाथिको छलफल आइतबारदेखि हुँदै छ । यही महिनाभित्र छलफल सकेर बजेट पास गर्ने सरकारी तयारी छ । तर विपक्षीको दाउ यो महिना बजेट रोक्ने छ ।

प्रकाशित : २०७८ असार २७ गते १४:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI