अघिल्लो सरकारले राखेका प्रदेश प्रमुखहरू हटाइँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १२ गते १३:३१
अघिल्लो सरकारले राखेका प्रदेश प्रमुखहरू हटाइँदै

काठमाडौँ । अघिल्लो सरकारले राखेका प्रदेश प्रमुखहरु नयाँ सरकारले हटाउने भएको छ । ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गरेर सत्तारुढ गठबन्धनका दलहरुको भागबण्डामा पुनः नियुक्ति गर्ने तयारी रहेको बताइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई हटाउने वा नियुक्त गर्ने अधिकार हुन्छ । अघिल्लो केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ७ वटै प्रदेशका प्रमुख हटाएर वर्तमान सरकारले पुनः भागबण्डाका आधारमा नियुक्ति गर्न गठबन्धनका नेताहरुबीच सहमति भएको बताइएको छ ।

स्रोतका अनुसार शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तत्कालका लागि लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश–२ का प्रदेश प्रमुखलाई हटाउने तयारी गरिएको छ । त्यसैगरी अन्य प्रदेशमा पनि प्रमुखहरु हटाएर नयाँ नियुक्ति गर्ने तयारी रहेको बताइएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट भागबण्डाका आधाुरमा कांग्रेस र माओवादी केन्द्रले २ वटा प्रदेशमा प्रमुखको पद पाउनछन् । बाँकी एमालेको माधव नेपाल समु र जनता समाजवादीको भागमा पर्नेगरी मिलाइने जनाइएको छ ।

अघिल्लो सरकारले प्रदेश १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, र प्रदेश २ को प्रमुखमा राजेश झा अहिराज रहेका छन् । यसैगरी बागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुखका रुपमा रहेका छन् ।

प्रकाशित : २०७८ साउन १२ गते १३:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI