बालबालिकालाई ‘जंक फुड’ को लतबाट छुटाउने उपाय

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १७ गते १२:४५
बालबालिकालाई ‘जंक फुड’ को लतबाट छुटाउने उपाय

भनिन्छ, ‘गुड फुड’ (स्वस्थ खानेकुरा)ले ‘गुड मुड’ बनाउँछ, ‘ब्याड फुड’ले हाम्रा दिनचर्या पनि खराब बनाउँछ। यो कुरा बालबालिकाका लागि झनै महत्त्वपूर्ण छ। किनभने, खराब खानाले उनीहरूको दिनमात्रै खराब बनाउँदैन, शारीरिकदेखि मानसिक स्वास्थ्यसम्मै असर गर्छ।

बिभिन्न खोज अनुसन्धानबाट युनिर्भसिटी अफ जुरिकका वैज्ञानिकले जंक फुडले वयस्क मानिसलाई भन्दा बालबालिकाको स्वास्थ्यलाई तीव्र असर पार्ने निष्कर्ष निकालेका छन्।

बालबालिकाका लागि ‘स्लो पोइजन’ जस्तै 
पोषणविद्‍समेत रहेकी डा. पुनम कार्की बालबालिकाका लागि जंक या फास्ट फुड ‘स्लो पोइजन’ (मन्द विष) जस्तै भएको बताउँछिन्। उनले भनिन्, ‘जंक फुडले केही समयका लागि इनर्जी दिन्छ। किनभने, यस्ता खानेकुरामा प्रशस्त मात्रामा फ्याट, सुगर र साल्ट (चिल्लो, चिनी र नून) हुन्छ। तर, मानिसका लागि चाहिने फाइबर, प्रोटिन, भिटामिन र मिनरलजस्ता पोषक तत्व पाइँदैन।’

अझै कतिपय जंक फुडमा त अखाद्यवस्तु पनि मिसाइएको हुन्छ। जस्तैः आकर्षक देखाउनका लागि कलर, स्वादका लागि विभिन्‍न फ्लेवर राखिएको हुन्छ। डा. कार्कीका अनुसार यस्ता खानेकुरा बनाउने तरिका र स्थान पनि स्वास्थ्यको लागि हानिकारक हुन्छन्।

यस्ता खानेकुराले हानी गर्छ भन्‍ने बुझेका मानिसलाई समेत जंक फुडको लत लाग्ने उनको भनाइ छ। ‘बालबालिका त यसबाट बेखबर हुन्छन्। उनीहरूलाई जंक फुडको असर थाहा हुँदैन, त्यसैमाथि यसको स्वादले उनीहरू आकर्षित हुन्छन्,’ डा. कार्कीले भनिन्।

यदि कुनै बच्चा जंक फुडमात्रै खान खोज्छ अथवा यस्ता खानेकुराको लत उसमा बसिसकेको छ भने उसको शरीरमा तत्काल देखिने असर र दीर्घकालीन असरहरू पर्नसक्छ। पोषणविद् डा कार्कीले सुनाएको जंक फुडको असर यस्ता छन्:

मोटोपन
धेरै जंक फुड या फास्ट फुड खाने बालबालिका मोटोपनको शिकार बन्छन्। किनभने, यस्ता खानेकुरामा मानिसलाई चाहिनेभन्दा कयौं गुणा धेरै क्यालोरी हुन्छ। घरमा बनेको खानेकुराबाट पाउने क्यालोरीको तुलनामा जंक फुडबाट पाउने क्यालोरी धेरै प्रतिशतले बढी हुन्छ।

शरीरलाई चाहिनेभन्दा धेरै क्यालोरी शरीरमा जानेबित्तिकै त्यो फ्याट (बोसो)मा परिणत हुन्छ र शरीरमा जम्मा हुन थाल्छ। फलस्वरुप बालबालिका मोटोपनको शिकार हुन पुग्छन्। यस्तै, यी खानामा फाइबरको मात्रा निकै कम हुने भएकाले उनीहरूको पाचन प्रणालीमासमेत समस्या पर्न जान्छ। सानैदेखि कव्जियतको समस्या हुनसक्छ। यो बढ्दै गएर पछि पायल्स या फिस्टुला लगायतका दीर्घकालीन समस्या देखिनसक्छ।

दीर्घकालीन रूपमा हुने बिरामी
जंक या फास्ट फुड जसलाई नेपालीमा ‘कूखाद्य’ पनि भनिन्छ, यस्ता खानेकुराले लामो समयपछि देखिने समस्यालाई बढावा दिन्छ। जस्तैः मुटुरोग, डाइबिटिज, मिर्गौलामा आउने समस्या आदि। किनभने, जब बालबालिकाले अधिक मात्रामा जंक फुड खान थाल्छन् उनीहरूको शरीरमा परिवर्तन सुरू हुन्छ। प्राकृतिकभन्दा पर, खानेकुराका कारण शरीरमा आएको परिवर्तन नै दीर्घकालीन समस्याको जड हो।

हिजोआज बालबालिकाको दाँत प्रायः कमजोर र बिग्रिएको आउने गरेको छ। यसमासमेत जंक फुडकै भूमिका बढी हुने गर्दछ।

डिप्रेसन
खानेकुराको कारण मानसिकरूपमा समेत समस्या पर्छ भन्दा अचम्म मान्‍नु पर्दैन। किनभने, स्वस्थ खानेकुराले शरीर फूर्तिलो बनाउँछ। फूर्तिलो शरीरकै कारण मानसिकरूपमा हामी स्वस्थ रहन सक्छौं।

जंक फुडले शरीर फूर्तिलो बनाउँदैन। यस्ता खानेकुरा छिट्टै ग्लुकोजमा परिणत हुन्छ र छिट्टै समाप्त। त्यसैले, जंक फुड खाँदा छिटो भोक लाग्छ। भोक लागेपछि खान परिहाल्यो। जंक फुडको बानी लागेका बालबालिका अन्य स्वस्थ खानेकुरा खान रूचाउँदैनन् र फेरि जंक फुड नै खान्छन्। जसले गर्दा उनीहरू अल्छी पनि हुन्छन्, बदलामा मोटोपन बढ्दै जान्छ। मोटोपनले उनीहरू वाह्य क्रियाकलापमा सहभागी हुन सक्दैनन्, बाहिरका मानिसलाई फेस गर्ने आत्मबल पनि हुँदैन। जसले गर्दा उनीहरू डिप्रेसनको शिकार बन्‍न सक्छन्।

कस्ता खानेकुरा खुवाउने त?
पोषणविद् डा. कार्की भन्छिन्, ‘बालबालिकाको शरीर अरू उमेर समूहमा भन्दा छिटो हुर्कने भएकाले उनीहरूको खानेकुरामा ध्यान दिन निकै जरूरी छ। शरीर छिटो बढिरहेको हुन्छ र पेट पनि सानो हुन्छ। त्यसैले उनीहरूलाई उमेर पुगेका मानिसलाई जसरी खानेकुरा खुवाउनु हुँदैन। केही समयको अन्तरालमा खुवाइरहनुपर्छ।’

बालबालिकालाई खुवाउने खानामा प्रत्येक दिन शरीरलाई चाहिने पौष्टिक तत्त्व पूरा भएको हुनुपर्छ। एकै खानेकुराबाट सबै पोषक तत्त्व नपाइने हुनाले उनीहरूका लागि मिश्रित खाना खुवाउँदा राम्रो हुन्छ। उनले भनिन्, ‘हरेक दिन बालबालिकाको खानामा हरियो सागपात, फलफूल र मासुजन्य कुरा हुनु आवश्यक छ। मासु नखाने बालबालिकालाई प्रोटिन पाइने गेडागुडी खुवाउँदा राम्रो हुन्छ।’

निषेधाज्ञाले अभिभावकका लागि आफ्ना सन्तानसँग समय बिताउने माहोल बनाइदिएको छ। तिनै बालबालिकाका लागि भनेर काममा घोटिने अभिभावक निषेधाज्ञामा २४ सै घण्टा सन्तानसँग छन्। यस्तो अवस्थामा उनीहरूका लागि आफ्नै हातले स्वस्थ खानेकुरा खुवाउने गर्नुपर्ने उल्लेख गर्दै पोषणविद् डा. कार्की भन्छिन्, ‘खानामा फाइबरको मात्रा बढाउनुहोस्, मैदाको मात्रा घटाउनुहोस्। कतिपय घरमा खाने खानामासमेत अजिना मोटो प्रयोग हुने गरेको छ, यदि त्यस्तो छ भने त्यसलाई बन्द गर्नुहोस्।’

यदि बालबालिका एक पटकमात्रै स्वस्थ खानेकुराको लतमा परे भने पछि उनीहरूको शरीरले जंक फुड खान खोज्दैन। यसले उनीहरूको शरीरिकदेखि मानसिक स्वास्थ्यसम्मलाई फूर्तिलो राख्न मद्दत गर्छ। स्रोत: स्वास्थ्यखबर डटकम

प्रकाशित : २०७८ साउन १७ गते १२:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI