भरतपुर अस्पतालमा ओपिडि सेवाको समय बढाइने

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २८ गते १४:०३
भरतपुर अस्पतालमा ओपिडि सेवाको समय बढाइने

चितवन– चितवनको भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइने भएको छ । आगामी असोज एक गतेदेखि अस्पतालले बिहान ९ बजेदेखि नै बहिरङ्ग सेवा सुरु गर्न लागेको हो ।

यसअघि अस्पतालले बहिरङ्ग सेवा बिहान १० बजेदेखि तीन बजेसम्म दिँदै आएको थियो । ‘अब बिहान एक घण्टा सेवा थप गर्न लागेका छौँ’, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पोडेलले जानकारी दिए। यसअघि टिकट लिने समय बिहान ८ बजेदेखि ११ बजेसम्म भएकोमा अब दिउँसो १२ बजेसम्म हुने भएको छ ।

ओपिडि सेवामा बिहान एक घण्टा र टिकट काउण्टरमा दिउँसो एक घण्टा थप गर्न लागिएको पौडेलले बताए। अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले ओपिडि सेवाको समय बढाइएको उनको भनाइ छ । सङ्घीय अस्पताल भरतपुरमा ६०० श्यया छन् । चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । एकै दिनमा दुई हजार जनाले बहिरङ्ग सेवा लिएको तथ्याङ्क छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले लामो समय पालो कुर्नुपर्ने अवस्थालाई व्यवस्थापन गर्ने विषयमा अध्ययन भइरहेको बताए । उनले भने , “बिरामीको चाप बढ्दा सेवाग्राहीले घण्टौँं कुर्नुपर्ने समस्या छ ।” यसबाट कोरोना सङ्क्रमण फैलिनसक्ने जोखिम कम हुने अधिकारीले बताए। अस्पतालमा निजी सामाजिक सङ्घ संस्थाको सहयोगमा हरेक सोमबार सरसफाइ गरिँदै आएको छ । –रासस

प्रकाशित : २०७८ भदौ २८ गते १४:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI