रोहित शर्मा भारतका नयाँ टि–२० कप्तान, टेस्ट सिरिजमा पनि कप्तानी गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २३ गते १७:०९
रोहित शर्मा भारतका नयाँ टि–२० कप्तान, टेस्ट सिरिजमा पनि कप्तानी गर्ने

काठमाडौं। टि–२० विश्वकपबाट बाहिर भइसकेको धारतले अब अर्को सिरिजको तयारी सुरु गर्दैछ । १७ नोभेम्बरदेखि भारत र न्यूजिल्याण्डबीच ३ टि–२० र २ टेस्टको सिरिज हुँदैछ । रिपोर्टका अनुसार टि–२० सिरिजको लागि रोहित शर्मालाई भारतको नयाँ कप्तान बनाउने तयारी छ । टि–२० विश्वकप कप्तानको रुपमा विराट कोहलीको अन्तिम खेल थियो । विराटले कप्तानीबाट विदा लिइसकेका छन् र अब टि–२० को लागि नयाँ कप्तान बनाइँदैछ ।

टाइम्स अफ इण्डियाका अनुसार टि–२० का साथै रोहित शर्मालाई न्यूजिल्याण्डविरुद्ध पहिलो टेस्टको पनि कप्तान बनाइन सक्छ । रिपोर्टका अनुसार अहिलेका टेस्ट कप्तान विराट कोहलीले पहिलो टेस्टको लागि ब्रेक लिँदैछन् अर्थात उनी पहिलो टेस्ट खेल्नै छैनन् । उनी मुम्बइमा खेलिने दोस्रो टेस्टमा मात्रै टिममा फर्किनेछन् । कोहलीले टि–२० सिरिज पनि नखेल्ने बताइएको छ ।

इङल्याण्ड टुरमा खराब फर्मसँग जुधिरहेका भए पनि अजिंक्य राहाणेलाई टेस्ट टिमको उपकप्तानको रुपमा कायमै राखिनेछ । टि–२० सिरिजको लागि भने ओपनिङ ब्याटर केएल राहुललाई उपकप्तान बनाइनेछ । टि–२० सिरिजको पहिलो खेल १७ नोभेम्बरमा जयपुरमा, दोस्रो खेल १९ नोभेम्बरमा राँचीमा र तेस्रो खेल २१ नोभेम्बरमा कोलकातामा खेलिनेछ । पहिलो टेस्ट २५ नोभेम्बरदेखि कानपुरमा र दोस्रो टेस्ट ३ डिसेम्बरदेखि मुम्बइमा हुनेछ ।

प्रकाशित : २०७८ कार्तिक २३ गते १७:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI