‘भ्यालेन्टाइन्स् डे’ का लागि झण्डै एक करोड रुपैयाँको गुलाब आयात

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २ गते १४:२१
‘भ्यालेन्टाइन्स् डे’ का लागि झण्डै एक करोड रुपैयाँको गुलाब आयात

काठमाण्डाै – आजको ‘भ्यालेन्टाइन्स् डे’ अर्थात प्रणय दिवसका लागि झण्डै एक करोड रुपैयाँ बराबरको गुलाब आयात भएको छ ।

प्रणय दिवसमा गुलाबको फूल उपहार दिने चलन रहेकाले आजको दिन गुलाबको धेरै कारोबार हुने गरेको छ । तर, हरेक वर्ष गुलाबको माग बढ्दै गए पनि स्वदेशमा उत्पादन नबढ्दा भारतको भर पर्नु पर्ने अवस्था छ ।

यसपालि ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको छ । कोरोना महामारी अघि मागको २० प्रतिशत गुलाब नेपालमा नै उत्पादन हुने गरेको थियो ।

८० प्रतिशत भारतबाट आयात हुन्थ्यो । तर, महामारीका कारण भएको लकडाउनका बेला गुलाबका धेरै बिरुवामा समयमानै मलजल हुन नपाएकाले आधा भन्दा धेरै बिरुवा मरेको उहाँले बताउनुभयो ।

कोरोनाकै कारण पुष्प व्यवसायी घाटामा गएकाले थप लगानी हुन नसक्दा यसपालि गुलाबको आयात बढेको हो ।

प्रणय दिवसमा २ लाख ३० हजार वटा गुलाबका फूल कारोबार हुने अनुमान छ ।

प्रकाशित : २०७८ फागुन २ गते १४:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI