अमेरिकाले भन्यो : एमसीसी सम्झौता कार्यान्वयनको दिशामा अघि बढ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १६ गते ६:५३
अमेरिकाले भन्यो : एमसीसी सम्झौता कार्यान्वयनको दिशामा अघि बढ्यो

काठमाण्डाै – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ ।

हिजो बेलुकी संसदबाट एमसीसी अनुमोदन भएन लगत्तै काठमाण्डौमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर अब कार्यान्वयनको दिशामा अघि बढेको भन्दै प्रतिक्रिया जनाएको छ ।

विज्ञप्तिमा सम्झौता अनुमोदनसँगै नेपाली नागरिकका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने उल्लेख छ । झण्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको पनि दूतावासको दाबी छ ।

दूतावासको विज्ञप्तिमा यो वर्ष नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धको ७५औँ वर्ष रहेको उल्लेख गर्दै यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएका उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ ।’

अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको भन्दै दूतावासले अमेरिका नेपाल र नेपालको लोकतान्त्रिक मूल्य मान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

प्रकाशित : २०७८ फागुन १६ गते ६:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI