लेटाङ तनावः महिला प्रहरीको ज्यान जानेगरी भिडले प्रतिकार गरेको घटनामा आठ जना पक्राउ, के छ अहिलेको अवस्था

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ७ गते १७:२२
लेटाङ तनावः महिला प्रहरीको ज्यान जानेगरी भिडले प्रतिकार गरेको घटनामा आठ जना पक्राउ, के छ अहिलेको अवस्था

एक छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेर विवाद चर्किँदा तनावग्रस्त बनेको मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु भएपछि कम्तीमा आठ जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमवार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएपछि प्रहरीले आइतवार साँझ भएको घटनामा संलग्न भएको आशङ्कामा सन्दिग्ध मानिसहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए।

एउटा कार्यक्रममा भाग लिन मोरङको सुन्दर हरैँचा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी हत्याको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन्।

घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कार्यालयका अनुसार घटनामा मारिएकी प्रहरीको शरीरका खत र कस्ता हतियार प्रयोग भएको हो भन्ने विषय पनि अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।

प्रहरी जवान मारिएको घटनामा नियन्त्रणमा लिइएका मानिसहरू संलग्न प्रमाणित भए कर्तव्य ज्यान मुद्दामा सजायको माग गर्दै अदालतमा पेस गर्ने तयारी मोरङ प्रहरीको छ।

छात्रामाथ दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर उनीमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिसकेको मुकारुङले बताए।

घटना कसरी भयो

कक्षा ७ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लैजाने प्रयास गर्दा एक महिला प्रहरीको आइतवार ज्यान गएको थियो।

भिडले आक्रमण गरेपछि प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरी प्रवक्ता मुकारुङले बताए।

दिनभरि विद्यालय परिसरभित्रै रहेका नगरपालिकाका जनप्रतिनिधि तथा ती आरोपित शिक्षकलाई ‘भिडबाट निकालेर बाहिर ल्याउने क्रममा’ उक्त घटना भएको प्रहरीको भनाइ छ।

मुकारुङले भने, “घटनामा मृत्यु भएकी प्रहरी जवानको घाँटीमा हतियारको चोट छ। धारिलो हतियार प्रयोग भएको देखिन्छ। सबै जानकारी पोस्टमार्टमको रिपोर्ट आएपछि दिन सकिन्छ।”

कर्फ्यूपछि लेटाङ सुनसान

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार शिक्षा विकास माध्यमिक विद्यालय लेटाङकी ती छात्रालाई दुर्व्यवहार भएको घटनालाई लिएर अभिभावक र विद्यार्थीहरूले शिक्षकलाई बन्धक बनाएका थिए।

त्यसबाट विद्यालयमा असहज परिस्थिति उत्पन्न भएपछि दोषीउपर कानुनी कारबाही गरिने भन्दै सम्झाउन बुझाउन गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन सकेन।

भिडबाट आगजनी, तोडफोड र ढुङ्गामुढा पनि भएको र एक प्रहरी समेत मारिएपछि कर्फ्यूको घोषणा गरिएको थियो।

महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएपछि स्थिति अझ तनावग्रस्त बन्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले घटनास्थल तथा आसपासका स्थानमा बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू आदेश जारी भएपछि अहिले लेटाङ सुनसान रहेको लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले बताए।

उनले भने, “कर्फ्यू लगाएपछि हुलदङ्गा नहुने भएकाले स्थिति सामान्य बन्ने र अपराध गर्नेहरू पक्राउ पर्नेछन् भन्ने विश्वास छ।”

छात्राको परिवार के भन्छ

होलीको दिन आरोपित शिक्षक छात्राको घर गएर दुर्व्यवहार गरेको परिवारका सदस्यले बताएका छन्।

‘नछुने ठाउँमा छुने’ प्रयास भएपछि छात्राले प्रतिकार गरेको छात्राका काकाले बताए।

उनले भने, “भतिजीले विद्यालय लागेपछि विद्यालयमै कुरा गर्छु भनेर गइछिन्। हामीलाई भनिनन्। विद्यालयबाट पनि हामी परिवारका सदस्यलाई खबर नै गरेनन्।”

उनले ती शिक्षकमाथि कानुनी कारबाहीका लागि किटानी जाहेरी दिन अहिले भतिजीका साथ जिल्ला प्रहरी कार्यालय मोरङमा रहेको बताए।

जघन्य आपराधिक घटना’

लेटाङ नगरपालिकाका प्रमुख राईले ‘जघन्य आपराधिक घटना’ का लागि विद्यालय जिम्मेवार रहेको बताए।

उनले छात्रामाथि यौन दुर्व्यवहारको घटना विद्यालयमै ‘थामथुम’ गर्ने प्रयासले यो रूप लिएको बताए।

नगरपालिकाका प्रमुख राईले भने, “पहिला पनि यस्ता घटना भएका रहेछन्। तर शिक्षकलाई ‘आइन्दा त्यस्तो नगर्ने’ भन्दै कागज गराउदै छोड्ने गरिएको रहेछ। नगरपालिका कार्यालयसम्म यो विषय आउँदै आएन।”

को हुन् लेटाङ घटनामा मृत्यु भएकी महिला प्रहरी जवान

लेटाङ-५ मा आइतवार मानिसको भिडले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्।

उनी नेपाल प्रहरीको प्रदेश प्रहरी गण रानीमा कार्यरत महिला प्रहरी जवान रहेकी जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मुकारुङले जानकारी दिए।

उनका पति पनि प्रहरी सेवामा नै उनले बताए।-बिबिसी

 

 

प्रकाशित : २०७८ चैत ७ गते १७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI