कसरी छान्दैछन् दलहरु उम्मेदवार ? यस्ता छन् मापदण्ड

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २३ गते ९:५१
कसरी छान्दैछन् दलहरु उम्मेदवार ? यस्ता छन् मापदण्ड

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले चुनावी तयारी तीब्र पारिरहेका छन् । दलका नेताहरु चुनावी माहोल बनाउन राजधानी बाहिरका सभा तथा पार्टीका कार्यक्रमहरुमा व्यस्त छन् ।

शीर्ष नेताहरु दैनिक जसो चुनावी कार्यक्रममा सहभागी छन् । निर्वाचनको समयमा पार्टी प्रवेशलाई विशेष जोड दिने नेपाली राजनीतिको पूरानै चलन हो । कतिपय अवस्थामा आफ्नो पुरानो पार्टीबाट टिकट नपाउने देखेका स्थानीय नेताहरु पनि चुनावको बेला अर्को पार्टीबाट टिकट लिएर प्रवेश गर्ने गरेका उदाहरण नयाँ होइनन् ।

जनता समाजवादी पार्टी (जसपा) का वीरगन्जका मेयर विजय सरावगी एमाले प्रवेश गरे । उनले पुन: मेयरको टिकट सुनिश्चित गरेर एमाले प्रवेश गरेको बताइन्छ । यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित २९ जनप्रतिनिधि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे ।

उम्मेदवार छान्दै दल
दलहरुले लोकप्रियता र इमान्दारलाई उम्मेदवार छान्ने भनेता पनि टिकट पाउने बेलासम्म त्यो मापदण्ड लागू हुन सकस नै पर्छ । ‘बाहुवली’ व्यक्तिले टिकट पाउने नेपाली राजनीतिको पुरानै चलन हो। तर पनि दलहरुले उम्मेदवारका लागि मापदण्ड भने बनाएका छन् । ११–१२ वैशाखमा उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यतालिका छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले उम्मेदवारका लागि ६ वटा मापदण्ड तयार गरेको छ । एमालेले पार्टी प्रतिप्रतिबद्ध, लोकप्रिय, उच्च कार्यक्षमता, आन्दोलनमा योगदान, जित सुनिश्चत गर्न सक्ने मापदण्ड बनाएको छ । एमालेले ३० चैतसम्म उम्मेदवार सिफारिस गर्नसमेत भनेको छ । एमालेले चुनावी घोषणापत्रको तयारीसमेत गरिसकेको छ । एमालेले वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। एमालेको घोषणापत्र लेखनका लागि वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको संयोजकत्वमा नौ सदस्यीय समिति बनाइएको छ। घोषणापत्रको मस्यौदा चैत ३० भित्र बुझाउन भनिएको छ ।

नेपाली कांग्रेसले पनि स्थानीय निर्वाचनको तयारीलाई तीब्रता दिएको छ । कांग्रेसले सोमबार मात्र महामन्त्री गगन थापाको संयोजकत्वमा २७ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ। समितिमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवासहित विज्ञहरुलाई समेत समेटिएको छ । कांग्रेसले स्थानीय तह उम्मेदवारका लागि पार्टी जनतामाझ लोकप्रिय, कार्यसम्पादनमा उत्कृष्ट क्षमता भएको लगायतका मापदण्ड तोकेको ।

कांग्रेस विधानअनुसार गाउँ, नगरवडा अध्यक्ष र सदस्य प्रतिनिधिसभा संसदीय समितिमार्फत, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जिल्ला संसदीय समितिमार्फत, नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुख प्रदेश संसदीय समितिमार्फत तथा महानगरपालिका प्रमुख र उपप्रमुख केन्द्रीय संसदीय समितिमार्फत उम्मेदवार चयन हुनेछन् ।

नेकपा माओवादी केन्द्रले विशेष परिस्थितिबाहेक यसअघिका जनप्रतिनिधिलाई उम्मेदवारमा नदोहोर्यावउने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवार छनौटबारे पार्टी कमिटीलाई ६ बुँदे सर्कुलर जारी गरिसकेका छन्। सर्कुलर अनुसार विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने, देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवी भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने, पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने र समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने भनिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय निर्वाचन निर्देशिका तयार पारेर निर्वाचनको तयारी गरेको छ । जसपाले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुनका लागि पार्टीको सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम र पार्टीको एकत्वलाई आत्मसात् गर्ने, पार्टी समितिमा संगठित र सक्रिय रहने, सामाजिक काममा समर्पित हुन सक्ने, स्वच्छ सामाजिक छवि भएको, विजय हासिल गर्न सक्ने, सम्बन्धित गाउँ, सहर र वडाको विषयवस्तु बुझेको, सुशासन प्रत्याभूति गर्न सक्ने हुनुपर्ने मापदण्ड तोकेको छ ।

नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवार छनौटको न्यूनतम आधार तयार पारिसकेको छ ।नेकपा एसले पनि लोकप्रिय उम्मेदवारलाई पहिलो प्राथमिकतामा राखेको छ ।

प्रकाशित : २०७८ चैत २३ गते ९:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI