यस्ता छन तालमेलका लागि सत्ता गठबन्धनले बनाएका आधारहरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ३० गते ८:१२
यस्ता छन  तालमेलका लागि सत्ता गठबन्धनले बनाएका आधारहरु

काठमाडौं । सत्ता गठबन्धनले उमेदवार सिफारिस गर्न स्थानीय तहमा चुनावी तालमेलका लागि मापदण्ड बनाएको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको बैठकले उमेदवार सिफारिस गर्न लिखित मापदण्ड बनाएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैका आधारमा तल्ला तहले उमेदवारको टुङ्गो लगाउने छन् ।

यी हुन् आधारहरू :

१. महानगर र उपमहानगरपालिका प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।

२. नगरपालिका र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३. सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई दुई पतिनिधि रहने ।

५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन सम्बन्धित पार्टीले आआफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न पाउने ।

६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू :

१. ०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी)मा कायम रहेका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने ।

२. ०७४ मा गठबन्धनमा आबद्ध दलका उमेदवारले पालिका र वडामा प्राप्त मतको मतभारलाई मान्ने ।

३. ०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने ।

४. ०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । अन्य दलका उमेदवारले पाएको मतभारलाई पनि आधार बनाउने ।

५. वर्तमान अवस्थामा रहेको संगठनको अवस्था र जनसमर्थनलाई पनि आधार मान्ने ।

६. गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्न पाउने ।

प्रकाशित : २०७८ चैत ३० गते ८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI