एमालेका सहयात्री राप्रपा नेपाल र परिवार दल

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १ गते १०:०३
एमालेका सहयात्री राप्रपा नेपाल र परिवार दल

काठमाडौँ — पाँचदलीय सत्ता गठबन्धनले देशभर नै तालमेल गर्ने निर्णय गरेसँगै दबाबमा रहेको एमाले राप्रपा नेपाल र परिवार दललाई साथमा लिएर स्थानीय तह चुनावमा उत्रने भएको छ । बुधबार भएको सम्झौताअनुसार कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकालको परिवार दलका उम्मेदवार एमालेको चुनावचिह्न सूर्यबाट प्रतिस्पर्धा गर्नेछन् । एमालेका नेताहरूले आसन्न चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने सार्वजनिक उद्घोष गर्दै आएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धन एक्लाएक्लै लड्न सक्ने अवस्थामा नभएको बताउने गरेका थिए । सार्वजनिक मञ्चमा एमालेको सामर्थ्यअघि अन्य दल टिक्न नसक्ने दाबी गर्दै आए पनि नेताहरूले अन्य दलसँग तालमेलका लागि गृहकार्य गरिरहेका थिए । सत्ता गठबन्धन भत्किने सम्भावनासमेत टरेपछि एमालेले दुई साना दलसँग सहकार्य गरेको हो । एमालेको चुनावचिह्नबाट प्रतिस्पर्धा गरे पनि राप्रपा नेपाल र परिवार दलका उम्मेदवारको हैसियत साविकको दलकै हुने सम्झौता छ ।

एमालेले गएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिकामा प्रमुख/अध्यक्ष पद जितेको थियो । त्यतिबेला पनि धेरै ठाउँमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । तर यसपालि ती दुई दलसँगै जनता समाजवादी पार्टी र एमालेबाट विभाजित एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा आबद्ध छन् । लामो समय एमालेको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा गत भदौमा एकीकृत समाजवादी गठन गरिएको हो । नेपाल र खनालसँगै नेता–कार्यकर्ताको एउटा पंक्तिले एमाले छाडेको छ । एमाले नेताहरूले भने विभाजन भएर गएकाभन्दा बढी नेता–कार्यकर्ता अन्य दलबाट भित्रिएकाले खासै असर नपरेको दाबी गर्दै आएका छन् ।

कांग्रेसभित्र एक्लै स्थानीय चुनावमा जानुपर्ने आवाज पनि उठेको थियो तर यसरी आवाज उठाउने शक्ति कमजोर रहेकाले सत्ता गठबन्धनले ७ सय ५३ वटै पालिकामा तालमेल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने चुनावी गठबन्धनमै जोड दिँदै आएका थिए । संघीय संसद् र सबै प्रदेशसभामा प्रतिपक्षमा रहेको एमालेले भने चुनावमा एक्लै लड्ने सामर्थ्य रहेको दाबी गर्दै पार्टी प्रवेश अभियान नै चलाएको थियो ।

एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताको उपस्थितिमा बुधबार स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको हो । सम्झौतामा एमालेका तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । अर्को सम्झौतामा एमालेबाट दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरेका छन् । एमालेले दुवै दलसँग एकै खालको सम्झौता गरेको छ । २०७४ सालको आमनिर्वाचनमा पनि परिवार दलले एमालेको चुनावचिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरूले गठबन्धन गरेपछि आफूहरूले पनि चुनाव तालमेल गरेर जाने निर्णय गरेको बताए । ‘अहिले स्थानीय चुनावमा एक्लै जाने अवस्था भएन,’ उनले भने, ‘राप्रपा नेपाल तुलनात्मक रूपमा नयाँ पनि छ । त्यसैले एमालेसँग सहकार्य गर्ने निर्णय गरेका हौं ।’ उनले राष्ट्रियता, आर्थिक समृद्धि र स्थिरताका विषयमा एमालेसँग धारणा मिलेको बताए । राजनीतिक दलहरूले सहमति गरेर साझा चुनावचिह्न लिएर जान सक्ने कानुनी व्यवस्थाअनुसार सूर्य चिह्न लिएको उनको भनाइ छ । ‘मतदातामा कुनै प्रकारको अलमल नहोस् भनेर सूर्य चिह्न लिएर चुनाव लड्न लागेका हौं,’ थापाले भने, ‘चुनाव जितेपछि हाम्रा सबै उम्मेदवार राप्रपा नेपालमै रहन्छन् र चुनाव प्रचार पनि राप्रपा नेपाल भएरै हुन्छ । चिह्न मात्रै साझा हो ।’

पाँचदलीय गठबन्धन एक हुँदा त्यसले उत्पन्न गर्ने चुनौतीबाट अत्तालिएर एमालेले साना दलहरूसँग गठबन्धन गरेको टिप्पणी कतिपयले गरेका छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवाली भने त्यसलाई अस्वीकार गर्छन् । ‘पाच दल एमालेसँग एक्लाएक्लै लड्ने अवस्थामा छैनन् । एमालेविरुद्ध उनीहरूले गठबन्धन गरेका हुन्,’ उनले भने, ‘त्यसबाट हामी अत्तालिएका छैनौं । कोही तपाईंहरूलाई सहयोग गर्छौं सहयोगी हुन्छौं भन्छन् भने त्यो सकारात्मक कुरा हो ।’ उनले यो गठबन्धन नभई अन्य दल एमालेको चुनाव चिह्नबाट लड्न तयार भएको बताए । ‘हाम्रा लागि धेरै/थोरै जति भए पनि यो प्लस हो । भोट थपिन्छ । चुनावचिह्न सूर्य भएपछि हाम्रा मतदातालाई पनि अप्ठ्यारो परेन,’ उनले भने, ‘एकातर्फ पाँचदलीय गठबन्धन र अर्कोतर्फ एमाले एक्लै छ । पाँचदलीय गठबन्धन नगर्ने हो भने एमालेसँग प्रतिस्पर्धा नै हुँदैन ।’ एमाले उपाध्यक्ष ज्ञवालीले स्थानीय तहमा व्यक्तित्व हेरेर टिकट वितरण हुने बताए ।

राप्रपाबाट बाहिरिने क्रममा थापाले आफू निकटका नेताहरूलाई एमालेसँग संघ तथा प्रदेशसभा निर्वाचनमा सूर्य चुनावचिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति भइसकेको बताएका थिए । एमाले उपाध्यक्ष ज्ञवाली भने वैशाख ३० को स्थानीय तह चुनावका लागि मात्र अहिले सहमति भएको बताउँछन् । एमालेसँग सहमति गरेका दुवै दलबीच वैचारिक भिन्नता भने निकै ठूलो छ । त्यही कारण दुवै पार्टीका नेताले भिन्न वैचारिक मान्यताका सम्बन्धमा मतदाताका तिखा प्रश्न सामना गर्नुपर्ने देखिएको छ । एमाले उपाध्यक्ष ज्ञवाली भने फरक पार्टी भएपछि फरक विचार हुनु स्वाभाविक रहेको र त्यसले तालमेललाई असर नगर्ने दाबी गर्छन् । अध्यक्ष थापाले यो तालमेल स्थानीय चुनावका लागि भएको बताए ।

पछिल्लो समय राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिएको धारणा र एमाले अध्यक्ष केपी शर्मा ओलीमा देखिएको सांस्कृतिक राष्ट्रवादको रुझान मिल्दोजुल्दो देखिएको थियो । ओली र थापाबीच २०७२ सालको गठबन्धनदेखि नै सम्बन्धमा निकटता आएको थियो । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा मन्त्रिपरिषद्मा थापा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री थिए । गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले संवैधानिक राजतन्त्र मुद्दा छाडेका छन् । दुवै दलका लागि स्थानीय तहको चुनाव जीवनमरणको सवाल बनेको छ । एमालेलाई चुनावमा सबैभन्दा ठूलो दल बन्ने र राप्रपा नेपाललाई अस्तित्व जोगाउने चुनौती छ ।-ईकान्तिपुरबाट

प्रकाशित : २०७९ वैशाख १ गते १०:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI