हावाहुरीले रुख ढल्दा भरतपुरमा च्यापिएर ३ को मृत्यु, चितवनमा विद्युत सेवा अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ६ गते २१:४०
हावाहुरीले रुख ढल्दा भरतपुरमा च्यापिएर ३ को मृत्यु, चितवनमा विद्युत सेवा अवरुद्ध

चितवन, जेठ ६
हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ । राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसेकेको बताउनुभयो ।

यस्तै विद्युतका पोल र रुखहरु ढल्दा चितवनका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, नारायणगढ, आपँटारी, क्यान्सरगेट, चितवन मेडिकल कलेज लगायतका स्थानमा रुख र विद्युत पोल ढल्दा सडक अवरुद्ध बनेको हो । अहिले रुखहरु हटाएर सडक सञ्चालन गर्न  लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रमुख धर्म अधिकारीले जानकारी दिनुभयो । विद्युत सेवा अवरुद्ध भएर अध्यारो हुँदा क्षतिको विवरण संकलन गर्न नसकिएको उहाँले बताउनुभयो । हावाहुरीले नारायणगढको पुलचोकमा ट्रकलाई समेत पल्टाएको थियो । अहिले त्यस स्थानमा अवरुद्ध भएको सडक सुचारु गरिएको छ । यस्तै चितवनको सिनर्जी एफ.एफ.को टावरमा समेत क्षती पुगेको छ । एफ.एफ.का स्टेसन म्यानेजर रामकान्त पौडेलका अनुसार, हावाहुरीले टावरको आधा भागबाट भाँचिएको छ । यस्तै राप्तीमा घरका छानाहरु हावाहुरीले उडाएको बुझिएको छ ।

शुक्रबार साँझ आएको ठुलो हावाहुरीका कारण विद्युतका पोलहरु ढल्ला  चितवनमा विद्युत अवरुद्ध भएको छ । भरतपुर फिडरबाट सञ्चालन हुने सवै क्षेत्रमा विद्युत अवरुद्ध भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३० देखि ३५ वटा विद्युतका पोलहरु भाँचिएका छन् । शनिवार अपराह्नसम्म विद्युत अवरुद्ध हुने पौडेलले बताउनुभयो ।

प्रकाशित : २०७९ जेठ ६ गते २१:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI