अरुणखोला बहुमुखी क्याम्पसमा गोला प्रथाबाट स्ववियु चयन

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन ३० गते १८:५९
अरुणखोला बहुमुखी क्याम्पसमा गोला प्रथाबाट स्ववियु चयन

कावासोती : नवलपुरको एउटा क्याम्पसमा विदार्थी संगठनहरुले गोला प्रथा गरेर स्ववियूको भागवण्डा टुङग्याएका छन । जिल्लाको अरुणखोलास्थित अरुणखोला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत विद्यार्थी नेताहरुले गोला प्रथा गरेर सबै पदमा निर्विरोध बनाएका छन ।

मतदानमा कुनै एउटा पक्षको स्पष्ट बहुमत नआउने हिसाब निस्किएपछि सहमतिका आधारमा यहाँका ४ विद्यार्थी संगठनका नेताले गोला थुतेर भागबन्डा गरेको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका जिल्ला अध्यक्ष मदन गिरीले बताए ।

अध्यक्ष गिरीका अनुसार विद्यार्थी संगठनले आपसी छलफल गरेर गोला तानेर सहमति गरेका हुन् । उहाँका अनुसार स्ववियु सभापतिमा नेकपा (समाजवादी) निकट अनेरास्ववियुले स्ववियु सभापति सहित २ सदस्य, एमाले निकट अनेरास्ववियुले उपसभापति, सहसचिवसहित दुई सदस्य पाएको छ ।कांग्रेस निकट नेविसंघले सचिवसहित दुई सदस्य,माओवादी निकट अखिल क्रान्तिकारीले भने कोषाध्यक्षसहित २ सदस्य पाएको छ ।

त्यहाँ मंगलबार विद्यार्थीहरुले सहमति गरेर गोला थुतेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष हरि सुवेदी जानकारी दिए । गोला तान्दा परेको पदसहित थप दुई/दुई सदस्य लिएर सहमति गरिएको सुवेदीले बताए ।

गोला प्रथाबाट सभापतिमा विजय काफले, उपसभापतिमा अस्मिता अधिकारी, सचिवमा विशाल दर्लामी मगर र कोषाध्यक्षमा लिजा विष्ट चयन भएका छन । बाकी सदस्यहरु पनि सहमतिका आधारमै चयन गरिने सहमति भएकाले सबै विद्यार्थी संगठनहरुले आफ्नो भागका सदस्यहरुको मनोनयन दर्ता गराएकाले सबै पदमा सर्वसम्मत भएको हो ।

३ सय ११ विद्यार्थी अध्ययनरत रहेको यस क्याम्पसमा स्नातक तहसम्म पढाइ हुन्छ । गोला तान्दा परेको पदसहित ती विद्यार्थी संगठनले स्ववियु निर्वाचन निर्विरोध घोषणा गराउन क्याम्पस प्रमुखलाई संयुक्त निवेदन दिएका छन् ।

प्रकाशित : २०७९ फागुन ३० गते १८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI