नारायणी नदी तटबन्धन : गैंडाकोटतर्फको लागि एक साताभित्रै डीपीआर प्रक्रिया अगाडि बढाइने

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत २४ गते १५:०३
नारायणी नदी तटबन्धन : गैंडाकोटतर्फको लागि एक साताभित्रै डीपीआर प्रक्रिया अगाडि बढाइने

भरतपुर । नारायणी नदीको गैंडाकोटतर्फको किनारमा पनि तटबन्ध गर्नको लागि एक साताभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ । हाल नदीको नारायणगढतर्फको किनारमा ‘रिभर बिच मोडल’मा तटबन्धसहितको संरचना बन्दै गर्दा सोही संरचनाका कारण बर्खायाममा नदीको वहाव परिवर्तन भई गैंडाकोटको किनारी क्षेत्र डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएको थियो ।

उनीहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका थिए । शुक्रबार गैंडाकोट बचाऔं संघर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैंडाकोट नगरपालिकाकाबीच गैंडाकोटतर्फको किनारमा पनि तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी ३ बुँदे सहमति भएपछि स्थानीयले जारी आन्दोलनलाई स्थगित गरेको छ ।

स्थानीयका माग सम्बोधन गर्ने गरी काम अगाडि बढाउने सहमति भएको आयोजना प्रमुख गणेश मरासिनीले बताए । हरेक बर्खायाममा गैंडाकोट नगरपालिकाको वडा–१ र २ स्थित बोटे टोल र ब्रिटिस क्याम्प क्षेत्रमा नारायणीको बाढी पस्दै आएको छ । नदीको नारायणगढतर्फ संरचना बनाइँदा डुबानको जोखिम झनै बढ्ने स्थानीयको चिन्तालाई गम्भीर रुपमा लिँदै आगामी एक साताभित्रै उपभोक्ता समिति गठन गरी तटबन्धको प्रक्रिया अगाडि बढाइने सहमति भएको उनले जानकारी दिए । ‘नारायणी नदीको पुलबाट उत्तरतर्फ रिभर बीच मोडलमा बन्दै गरेका संरचनाको दीर्घकालीन व्यवस्थापनका लागि समेत गैंडाकोट क्षेत्रमा पनि संरक्षणका कार्यहरु अघि बढाउनुपर्ने आवश्यकता महसुस गर्दै आयोजनाकै तर्फबाट आउने एक साताभित्र तटबन्धको डीपीआर प्रक्रिया अघि बढाइनेछ,’ सहमतिबारे जानकारी दिँदै उनले भने, ‘गैंडाकोट–६ र ९ स्थित किनारी क्षेत्र संरक्षण गर्ने सन्दर्भमा पनि आयोजनाले स्थलगत अध्ययन गरी आवश्यक कार्य अघि बढाउने निर्णयमा पुगेका छौं ।’

त्रिपक्षीय सम्झौतापछि गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले नदी र आसपासको क्षेत्र संरक्षणका लागि महत्वपूर्ण निर्णय भएको बताए । तटबन्धको डीपीआर, संरचना निर्माणलगायतमा सहजीकरणका लागि आफू सदैव तयार रहेको पनि उनले प्रतिबद्धता जनाए ।

गैंडाकोटमा शुक्रबार भएको छलफलमा आयोजना प्रमुख, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरु, संघर्ष समितिका संयोजक, विभिन्न राजनितिक दलका प्रतिनिधिलगायतको सहभागीता रहेको थियो । सहमतिपछि संघर्ष समितिका संयोजक गोकुल सापकोटाले आन्दोलनका सबै कार्यक्रम तत्काललाई स्थगन गरेको जानकारी दिए । आवश्यक परेमा अयाोजनालाई सहयोग गर्न तत्पर रहेको जनाउँदै उनले सहमतिविपरीत कुनै कार्य भएमा र स्थानीयको जीउधनकै असुरक्षा हुनेगरी संरचना निर्माण गरिए पुनः आन्दोलनमा उत्रने चेतावनीसमेत दिए । हालसम्मको दबाबमूलक आन्दोलनमा सहयोग गर्ने सबै पक्षलाई उनले धन्यवादसमेत प्रकट गरे ।

 

प्रकाशित : २०७९ चैत २४ गते १५:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI