सामुन्द्रिक तट सम्झाउने नारायणी किनार

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ ३० गते ८:२२
सामुन्द्रिक तट सम्झाउने नारायणी किनार

कावासोती  । आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदीकिनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै थिए, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।” सँगै रहेका अर्का व्यक्तिले थपे, “थाइल्याण्डको समुन्द्रकिनारको झल्को आयो ।”

उनहरूको भनाइअनुसार नारायणी नदी किनारलाई भरतपुर महानगरपालिकाले ‘सी बिच मोडल’ मा विकास गरिरहेको छ । समुन्द्रिककिनारको झल्को दिने गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महानगरले केन्द्रको समन्वयमा बजेट ल्याएर विकासका पूर्वाधार धमाधम निर्माण गरिरहेको छ ।

नारायणी नदीको पुलबाट उत्तरतर्फको भागलाई सरकारका तीन मन्त्रालयसँग महानगरपालिकाले सँगसँगै काम गरिरहेको छ । सोही किनारमा बनेको फुटपाथमा बिहान हिँडिरहेका सर्वसाधारणले पनि नदीकिनारको विदेशको झल्को दिनेगरी बनेकामा प्रशंसा गरिरहेका थिए । स्थानीय दियालो रोडका बटुकलाल श्रेष्ठले नदी किनारको विकास देखेर खुसी प्रकट गरे ।

सँगै रहेकी विजया श्रेष्ठले भनिन्, “पहिला फोहोर थियो, थाङ्नाथुङ्नी फालेको देखिन्थ्यो, अहिले कस्तो राम्रो भएको छ ।” सर्लाहीका मनसारी विकलाई नारायणीकिनार पहिलाको भन्दा अर्कै भएको महसुस भयो । उनले भनिन्, “पहिले पनि आएको थिएँ, अहिले अचम्मै भएछ ।” स्थानीय श्यामलाल श्रेष्ठले नदीकिनार निकै राम्रो भएको भन्दै सवारीसाधन भने आउन दिन नहुने बताए । उनले भनिन् “नदीकिनारले रुप फेरेको छ, यसलाई अझै राम्रो बनाउनु पर्छ ।”

सो ठाउँमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम सम्पन्न गरेको छ । सो मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतका काम अन्तिम चरणमा पु¥याएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरेको छ । नदीको सतहदेखि दुई दशमलव पाँच मिटर उचाइमा ११ खुट्किला निर्माण गरिएको छ । रू १५ करोड ९२ लाखमा सम्झौता भई काम सम्पन्न भएको छ ।

खुट्किलाको सतह दुई मिटर चौडा छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा छन् । माथिल्लो तह चार दशमलव पाँच मिटर फराकिलो बनेको छ । फराकिलो ठाउँमा मानिस बेलुका र बिहान हिँडडुल गर्ने गरेका छन् ।

सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिएको छ । पाँच मिटरको फरकमा बिरूवा लगाइएको छ । महानगरपालिकाका इन्जिनियर अस्मिता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ ।

उनका अनुसार नारायणी नदीकिनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरूयोजनाअन्तर्गत दुई दशमलव चार किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने तीन पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेका छन् ।

रू छ करोड ५० लाख बजेटमा सो काम भइरहेको छ । यो काम ९० प्रतिशत सकिएको उनको भनाइ छ । यसै ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बिच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरूयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिंचाइसम्मको दुई दशमलव पाँच किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।

तटबन्धबाहेक रू २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भएर काम भएको हो । नदीकिनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिँदै छ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहने छन् ।

नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गरिँदै छ । आरती क्षेत्रवरपर बत्ती राखिने छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले झन्डै रू दुई करोडको लागतमा कामको तयारी गरेको छ । बोलपत्र आह्वान भइसकेकाले छिट्टै काम सुरू हुँदैछ । महानगरपालिकाका प्रमुख रेनु दाहालले विदेश जाँदा समुन्द्रिकिनारमा देखिएको सौन्दर्यकरणलाई मध्यनजर गर्दै यहाँ त्यही मोडेलमा विकास गरिएको बताइन् ।

आफू पहिलोपटक प्रमुख भएकै समयदेखि यो काम अघि बढाइएको जनाउँदै उनले देख्ने गरी काम हुन थालेको बताइन । नारायणी नदीकिनारलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्यकरण गरी पर्यटकको नयाँ गन्तव्यका रुपमा विकास गरिएको उनको भनाइ छ ।

दाहालले भनिन्, “महानगरको गौरवको आयोजनाका रुपमा लिएर यसलाई गुरूयोजना बनाई काम गरिरहेका छौंँ ।” यसलाई अझै व्यवस्थित बनाउने गरी काम हुने उनको भनाइ छ । आउँदा दिनमा गुरूयोजनाअनुसारको काम सम्पन्न हुँदै गर्दा नदीकिनार थप आकर्षक बन्ने उनले जानकारी दिइन् । आजभोलि बिहानबेलुका नदीकिनारमा स्थानीयको निकै भीड हुने गरेको छ ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिककिनार हुने जनाउँदै नारायणी नदीलाई उपयोग गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको बताए । उनले भने “चितवन अब पर्यापर्यटन मात्रै होइन, जल पर्यटनका लागि पनि उपयुक्त थलो बन्दै छ ।” रासस

प्रकाशित : २०८० जेठ ३० गते ८:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI