टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफरमा एकै प्रकारका यूएसएसडी कोड

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ५ गते ८:३९
टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफरमा एकै प्रकारका यूएसएसडी कोड

कावासोती  । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले समान किसिमका यूएसएसडी कोड प्रयोगमा ल्याएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि अनुसार दुवै कम्पनीले एकै किसिमका यूएसएसडी ल्याएका हुन् ।

नियामकले ग्राहकको सहजताका लागि आधारभूत रूपमा प्रयोग हुने सेवाहरूका लागि सबै सेवा प्रदायकले एकै किसिमका यूएसएसडी नम्बर प्रयोग गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । जस अनुरूप ब्यालेन्स रिचार्जका लागि १२२, ब्यालेन्स ट्रान्सफरका लागि १३३ र ब्यालेन्सी इन्क्वाइरीका लागि १४४ यूएसएसडी नम्बरको व्यवस्था गरिएको छ ।

आआफ्नो सिस्टममा उल्लेखित यूएसएसडी कोड प्रयोगमा ल्याएको भए पनि दुवै कम्पनीले त्यसको सार्वजनिक सूचना भने जारी गरेका छैनन् । कम्पनीहरूले आफ्ना पूर्ववतः यूएसएसडी कोड समेत समानान्तर रूपमा प्रयोग गरिरहेको पाइन्छ ।

कसरी प्रयोग गर्ने एकै प्रकारका नयाँ यूएसएसडी कोड ?

१. ब्यालेन्स रिचार्ज गर्न १२२

यदि तपाईं रिचार्ज कार्ड खरिद गरी पिन नम्बर राखेर मोबाइल रिचार्ज गर्नु हुन्छ भने एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा यो यूएसएसडी कोड प्रयोग गर्न सक्नु हुन्छ । जसका लागि *१२२*रिचार्ज पिन नम्बर# राखी डायल गर्नुपर्ने हुन्छ ।

यसअघिदेखि ब्यालेन्स रिचार्ज गर्न टेलिकममा *४१२*रिचार्ज पिन नम्बर# र एनसेलमा  *१०२*रिचार्ज पिन नम्बर# डायल गर्नुपर्ने व्यवस्था मिलाइएको थियो । यद्यपि यो विधिबाट अझै केही समयसम्म ब्यालेन्स रिचार्ज गर्न सकिनेछ ।

२. ब्यालेन्स ट्रान्सफरका लागि १३३

ब्यालेन्स ट्रान्सफरका लागि समेत दुवै कम्पनीको नेटवर्कमा एउटै १३३ नम्बरको यूएसएसडी प्रयोग गर्न सकिन्छ । यद्यपि ब्यालेन्स ट्रान्सफर गर्ने दुवै कम्पनीको तरिका भने केही फरक छ ।

नेपाल टेलिकमको एउटा मोबाइलबाट अर्को मोबाइलमा ब्यालेन्स ट्रान्सफर गर्न *१३३*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफर गरिने मोबाइल नम्बर*ट्रान्सफर गर्ने रकम# डायल गर्नुपर्ने हुन्छ ।

तर एनसेलमा भने यो यूएसएसडी को प्रयोग गरी ब्यालेन्स ट्रान्सफर गर्न *१३३*ब्यालेन्स ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको रकम# डायल गर्नुपर्ने हुन्छ ।

यसअघिको व्यवस्था अनुसार नेपाल टेलिकमको ब्यालेन्स ट्रान्सफर गर्न *४२२*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफरको गन्तव्य मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको ब्यालेन्स# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईं टेलिकमको आफ्नो सेक्युरिटी कोड थाहा छैन भने मेसेज बक्समा SCODE टाइप गरी १४१५ मा पठाउन सक्नु हुन्छ ।

एनसेलमा भने ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२*ब्यालेन्स ट्रान्सफर गर्न चाहेको गन्तव्य मोबाइल नम्बर# डायल गर्नुपर्ने हुन्छ । यसका लागि सेक्युरिटी कोड आवश्यक पर्दैन ।

३. ब्यालेन्स जाँचमा १४४

दुवै नेटवर्कमा एउटै यूएसएसडी नम्बरबाट ब्यालेन्स इन्क्वाइरी अर्थात चेकजाँच गर्न पनि सकिन्छ । यसका लागि एनसेल र नेपाल टेलिकम दुवैका लागि *१४४# डायल गरे पुग्छ । यसअघिको व्यवस्था अनुसार एनसेलमा ब्यालेन्स चेक गर्न *१०१# अथवा *९०१# र टेलिकममा *४००# डायल गर्नुपर्ने हुन्छ ।

कार्यविधि अनुसार यसअघि सेवा प्रदायकले आआफ्नै किसिमले प्रयोगमा ल्याएका यूएसएसडी कोड एक वर्षपछि बन्द गरी अब यी एकै किसिमका यूएसएसडी कोड मात्रै प्रयोगमा ल्याउनु पर्नेछ ।

प्रकाशित : २०८० भदौ ५ गते ८:३९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI