बर्दिया पुगेका ९१ मध्ये ३८ वटा गैंडा मात्रै जीवित

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज ९ गते १५:०५
बर्दिया पुगेका ९१ मध्ये ३८ वटा गैंडा मात्रै जीवित

कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट पहिलोपटक कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा गैंडा स्थानान्तरण गर्न लागिएको छ। असोज ९ मा दुई केटी पुष्पा र अञ्जलीलाई आरक्ष लैजाने तयारी गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

‘राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) मा रहेर हुर्किएका गैंडाका केटीलाई विभागको निर्णयअनुसार कोशी टप्पुमा लैजाने तयारी छ। हामी असोज ९ मा कोशी टप्पु लैजान्छौं, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने, ‘असोज १० मा त्यहाँ छाड्ने कार्यक्रम छ।’ त्यहाँ लगेर सीधै जंगलमा नछाड्ने उनले बताए।

आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई अन्दाजी दुई र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरिएको थियो। दुवैलाई गत वैशाख ३१ मा प्राकृतिक वासस्थानमा छाडिएको थियो। सो समयमा पुष्पाको उमेर तीन वर्ष चार महिना र पूजाको उमेर दुई वर्ष एक महिना पुगेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए। उनका अनुसार हाल पुष्पाको उमेर तीन वर्ष आठ महिना र पूजाको उमेर दुई वर्ष पाँच महिना पुगेको छ।

कोशी टप्पुमा एउटा पनि गैंडा छैन। त्यसकारण उनीहरूलाई राख्न उपयुक्त वातावरण बनाउनुपर्नेछ। सन् २०२१ मा गरिएको गैंडा गणनाअनुसार नेपालका चारवटा राष्ट्रिय निकुञ्जमा मात्र गैंडा रहेको छ। सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैंडा रहेका छन्। त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गरी सात सय ५२ वटा गैंडा नेपालमा छन्।

५३ वटा गैंडा खोइ ?

चितवन राष्ट्रिय निकुञ्जबाट अहिलेसम्म सयवटा गैंडा स्थानान्तरण भइसकेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनअनुसार सन् १९८६ देखि यहाँबाट गैंडा स्थानान्तरण गर्न सुरु गरिएको देखिन्छ। त्यसयता सबैभन्दा बढी यहाँबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा गैंडा लगिएको छ।

पछिल्लो गैंडा गणनाअनुसार बर्दियामा ३८ वटा मात्र गैंडा रहेका छन्। बर्दियामा चितवनबाट १२ पटकसम्म गैंडा लगिएको छ। सन् १९८६ बाट लैजान सुरु गरिएको गैंडा पछिल्लोपटक सन् २०१७ मा तीनवटा गैंडा लगिएको छ। एकै वर्ष बर्दियामा पच्चीसवटा गैंडासम्म लगिएको निकुञ्ज विभागको प्रतिवेदनमा उल्लेख छ।

बर्दियापछि चितवन राष्ट्रिय निकुञ्जले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा गैंडा पठाएको छ। त्यहाँ पहिलोपटक सन् २००० मा एउटा भाले र तीनवटा पोथी गरी चारवटा गैंडा पठाइएको छ। पछिल्लोपटक शुक्लाफाँटामा सन् २०१७ मा पाँचवटा गैंडा लगिएको छ। हाल शुक्लाफाँटामा १७ वटा मात्र गैंडा छन्। यहाँबाट स्थानान्तरण भएका गैंडामध्ये ४५ वटा भाले र ५५ वटा पोथी रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका गैंडा स्वदेशमा मात्र होइन, मित्रराष्ट्रहरूलाई उपहारस्वरूप दिने गरिएको छ। औपचारिक रूपमा सन् १९८५ सालबाट उपहारस्वरूप मित्रराष्ट्रलाई गैंडा दिइएको देखिन्छ। निकुञ्ज विभागको रिपोर्टअनुसार पहिलोपटक भारतलाई चारवटा गैंडा दिइएको तथ्यांक छ। ती गैंडा भारतको दुदुवा राष्ट्रिय निकुञ्जमा राखिएको उल्लेख छ।

हालसम्म नौवटा देशमा यहाँका २६ वटा गैंडा पुगेका छन्। सबैभन्दा बढी अमेरिकाले ६ वटा गैंडा लगेको छ। उसले सन् १९८७ मा दुईपटक गरी चारवटा र सन् १९९० मा दुईवटा गैंडा लगेको छ। त्यसैगरी जर्मनी, सिंगापुर, बंगलादेश, बेलायत, अस्ट्रिया र चीनमा दुईदुईवटा गैंडा उपहारस्वरूप प्रदान गरिएको छ। पछिल्लोपटक सन् २०१८ मा चीनमा दुईवटा गैंडा लगिएको छ।-नागरिकबाट

प्रकाशित : २०८० असोज ९ गते १५:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI