नेपालले चीनलाई एक जोडी गैंडा उपहार दिने

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज ९ गते १५:११
नेपालले चीनलाई एक जोडी गैंडा उपहार दिने

कावासोती । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा बेइजिङबाट मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा नेपालले चीनलाई उपहारका रूपमा गैंडा दिने उल्लेख छ ।

दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा नेपालले चीनलाई गैंडा उपहार दिन लागेको पनि वक्तव्यमा उल्लेख छ । यसअघि पनि नेपालले चीनलाई ४ वटा गैंडा उपहारका रूपमा दिएको थियो । २०७३ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले चीनलाई गैंडा उपहार दिएको थियो । दुई चरणमा नेपालबाट भद्र, रुपसी, सोल्टी र मितिनी नाम गरेका गैंडा चीन पठाइएको थियो ।

नेपालले अमेरिका, जर्मनी, सिंगापुर बंगालदेश, जापान र अस्ट्रियालगायतका मुलुकलाई गैंडा उपहार दिँदै आएको छ । जसलाई केहीले ‘राइनो डिप्लोमेसी’का रूपमा समेत चर्चा गर्दै आएका छन् ।

२०७७ सालको गणनाअनुसार नेपालमा गैंडाको संख्या ७५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि भएको गणनामा संख्या ७ सय ५२ पुगेको हो । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

प्रकाशित : २०८० असोज ९ गते १५:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI