साविक विजेता भारतसामु नेपालको चुनौती

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १० गते ९:५७
साविक विजेता भारतसामु नेपालको चुनौती

काठमाडौं । साफ यू–१९ च्याम्पियन्सको फाइनल प्रवेशका लागि साविक विजेता भारतसामु घरेलु टिम नेपालले चुनौती प्रस्तुत गर्दै छ ।

च्याम्पियनसिपको पाँचौँ संस्करण चलिरहँदा नेपाल र भारत समान दुई पटकका विजेता हुन् । यसअघि नेपालले सन् २०१५ को पहिलो र २०१७ को दोस्रो संस्करणको उपाधि जितेको थियो । त्यसपछि २०१९ र २०२१ को संस्करण भने भारतले जितेको थियो ।

नेपालले यसअघि गत संस्करणमा भारतसँग ८–० को हार व्यहोरेको थियो । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उत्रिँदा नेपाली टिम बदलासहित फाइनल पुग्ने लक्ष्यमा हुनेछ । खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह ए को उपविजेताको रूपमा सेमिफाइनल आएको हो । नेपालले यसअघि समूह चरणको खेलमा पाकिस्तानसँग १–० को हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा माल्दिभ्सलाई ४–१ ले हराएपछि नेपाल उपविजेता बन्दै अन्तिम चारमा आएको हो ।

यता, भारत भने प्रतियोगिताको अपराजित छ । समूह बी को विजेता भारतले यसअघि पहिलो खेलमा साविक उपविजेता बंगलादेशलाई ३–० ले र दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो ।

आजै हुने पहिलो सेमिफाइनलमा पाकिस्तान र भुटानले प्रतिस्पर्धा गर्दै छन् । दशरथ रंगशालामा दिउँसो १ः३० बजेदेखि सुरु हुने खेलमा दुवै टिम जितसहित पहिलो पटक फाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछन् ।

प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका ६ टिमको सहभागिता थियो । जसमध्ये साविक उपविजेता बंगलादेश र माल्दिभ्सले समूह चरण पार गर्न सकेनन् ।

 

प्रकाशित : २०८० असोज १० गते ९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI