एमाले गण्डकी अधिवेशन आजबाट, अध्यक्षका आकांक्षीको लर्को

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १५ गते १३:५७
एमाले गण्डकी अधिवेशन आजबाट, अध्यक्षका आकांक्षीको लर्को

कास्की । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे  पोखराको अमरसिंह चौरमा अधिवेशनको उद्घाटन गर्दै छन् ।

एमाले गण्डकी अधिवेशनमा प्रभावशाली नेताहरू उपमहासचिव समेत रहेका नेता पृथ्वीसुव्वा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने आँकलन स्थानीय नेता कार्यकर्ताले गरेका छन् ।

अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि नेतृत्वले अधिवेशनमा प्यानल नबनाई चुनाव लड्न निर्देशन दिएको भए पनि गुरुङ र अधिकारीको नाममा नेताहरू प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

एमाले गण्डकीमा उपमहासचिव गुरुङले हाल प्रदेश अध्यक्ष नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई नै अघि सार्ने तयारी गरेका छन् । अधिकारी पक्षले भने केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई प्रदेश अध्यक्ष र रश्मी आचार्यलाई सचिवमा उम्मेदवार बनाउने तयारी गरेको अधिकारी निकटस्थहरूको भनाइ छ । तर अधिकारीले सर्वसम्मत अध्यक्ष चयनको प्रयास सफल भए केन्द्रीय सदस्य कृष्ण थापाका नाममा सहमति जुटाउने गृहकार्य समेत गरिरहेको बुझिएको छ ।

थापा गत स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग पराजित भएका थिए । शर्मा, अधिकारी र थापाबाहेक पनि एमाले गण्डकीको अध्यक्षमा रामशरण बस्नेत, राजीव पहारी, हालका प्रदेश उपाध्यक्ष मोहन रेग्मी, हिराबहादुर केसीले समेत अध्यक्षमा आकांक्षा राखेको बताइएको छ ।

अधिवेशनका लागि महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्याल आइतबार नै पोखरा पुगिसकेका छन् भने अध्यक्ष ओली सोमबार पोखरा पुग्दैछन् ।  एमाले गण्डकीका उप–सचिव एवं अधिवेशन प्रचार प्रसार उप समितिका संयोजक रश्मी आचार्यका अनुसार अधिवेशन उद्घाटन अघि पोखराका विभिन्न स्थानबाट झाँकी र जुलुस निकालिनेछ ।

पोखराको हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्ध चोक र बसपार्कबाट झाँकीसहित निकालिने जुलुसमा जिल्ला–जिल्लाबाट आएका एमालेले नेता कार्यकर्ता सहभागी हुनेछन् । अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि छनौट भएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित १६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने एमालेले जनाएको छ ।

प्रकाशित : २०८० असोज १५ गते १३:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI