जाजरकोट र रुकुम पश्चिममा पशुपक्षीमा पौने ४ करोडको क्षति

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २५ गते ९:०६
जाजरकोट र रुकुम पश्चिममा पशुपक्षीमा पौने ४ करोडको क्षति
भुकम्पले जाजरकोटमा पुर्‍याएको क्षती जाजरकोट , १८ कात्तिक : जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका ३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

कावासोती । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पले पशुपक्षीमा पनि ठूलो क्षति भएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा पौने चार करोडबराबरको पशुपक्षीको क्षति भएको छ । रुकुम पश्चिमको तुलनामा जाजरकोटमा धेरै क्षति छ ।

रुकुम पश्चिमका ६ मध्ये पाँच र जाजरकोटका दशमध्ये चार स्थानीय तहमा गरी कुल तीन करोड ७२ लाख ९२ हजार एक सय ७२ रुपैयाँबराबरको क्षति पशुपक्षीमा पुगेको तथ्यांक छ । दुई जिल्लामा गरी एक हजार ६ सय ३५ पशुपक्षी र गोठमा क्षति पुगेको छ ।

भूकम्पबाट जिल्लाका एक सय दुईजना कृषकका पशुपक्षी मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोटमा मात्र तीन करोड सात लाख ४६ हजार ६ सय ७२ रुपैयाँबराबरको क्षति भएको कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले बताए ।

कार्यालय प्रमुख शर्माका अनुसार जिल्लाभरमा कुल नौ सय ५७ वटा पशुपक्षी गोठमा क्षति पुगेको छ । जिल्लाभरमा ११ वटा गाईगोरु मर्दा दुई लाख २० हजार, एक सय ८० वटा भेडाबाख्रा मर्दा ३६ लाख, १९ वटा भैँसी मर्दा २२ लाख ८० हजार, ६ सय २९ वटा कुखुरा मर्दा एक लाख ६० हजार तीन सय ९५ र २० वटा टर्की मर्दा ६० हजारको क्षति भएको कार्यालय प्रमुख शर्माको भनाइ छ ।

त्यस्तै, ९८ वटा गोठ र खोर पूर्ण रूपमा भत्किँदा दुई करोड ४४ लाख २६ हजार दुई सय ७७ रुपैयाँको क्षति भएको शर्माले जानकारी गराए । जाजरकोटमा गोरु १५, बाख्रा पाँच सय २१, भैँसी १४ र गाई १८ गरी पाँच सय ६८ पशुपक्षीलाई उपचार गरी बचाइएको छ ।

यता रुकुम पश्चिममा ६ सय ७८ वटा पशुपक्षी र गोठमा क्षति भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर खड्काले जानकारी दिए । यसबाट जिल्लामा ६५ लाख ४६ हजार पाँच सय रुपैयाँको क्षति भएको उनले बताए ।

जिल्लामा सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा २५ लाख ७३ हजार र सानीभेरीमा २४ लाख ६९ हजार रुपैयाँबराबरको क्षति भएको छ । आठबिसकोटमा पाँच गाइगोरु, १० भैँसी, ३४ बाख्रा, तीन भेँडा र तीन सय ४२ कुखुरा मरेका छन् । कार्यालयका अनुसार आठबिसकोटमा एउटा खोर भत्किएको छ ।

सानीभेरीमा सात गाईगोरु, पाँच भैँसी, ६५ बाख्रा, एक सय ६ कुखुरा मर्दा एउटा गोठ भत्किएको छ । त्रिवेणी गाउँपालिकामा एक भैँसी, एक बाख्रा, दश टर्की, ५० कुखुरा र एउटा खोर गरी ६ लाख १५ हजार, मुसीकोटमा दुई भेँडा, ३३ कुखुरा र दुई खोर गरी आठ लाख ६९ हजार पाँच सय र चौरजहारीमा एउटा बाख्रा मर्दा २० हजारको क्षति भएको खड्काले जानकारी दिए । जिल्लाको बाँफीकोट गाउँपालिकामा भने पशुपक्षीमा भएको क्षतिको विवरण भने कार्यालयसँग छैन ।

समस्या नहुने गरी व्यवस्थापन गरेको दाबी
जाजरकोट र रुकुम पश्चिमका पशु अस्पताल तथा पशु सेवा कार्यालयले भूकम्पका कारण मरेका पशु चौपायको सुरक्षित व्यवस्थापन गरिएको दाबी गरेका छन् । मरेका पशु चौपायालाई दुर्गन्ध नफैलिने गरी व्यवस्थापन गरिएको दुवै कार्यालयको दाबी छ । पशु अस्पताल सेवा कार्यालय जाजरकोटका प्रमुख शर्माले पशु चिकित्सकसमेतको सहभागितामा मरेका पशुपक्षीको व्यवस्थापन गरिएको बताए ।

प्रदेश पशुपक्षी विकास निर्देशनालय सुर्खेतबाट डाक्टर सोविना मल्लको नेतृत्वमा आएको टोली र कार्यालयबाट डाक्टर सुशील ऐरीको नेतृत्वमा खटिएको पशु स्वास्थ्यकर्मीको टोलीले मरेका पशुपक्षीको व्यवस्थापन गरेको उनले स्पस्ट पारे । भोलिका दिनमा कुनै पनि समस्या नआओस् भन्ने ध्यानमा राखेर पशुपक्षीको व्यवस्थापन गरिएको उनको दाबी छ ।

पशुपक्षीलाई तुरुन्तै कुहाउनका लागि केमिकलसमेत प्रयोग गरिएको उनको भनाइ छ । यसका लागि पशुपक्षी विभाग, प्रदेश पशुपक्षी विकास निर्देशानालय र नेपाल पारा भेटेरेनरी एन्ड लाइभस्टक एसोसिएसनलगायत निकायले सघाएको कार्यालयले जनाएको छ ।

मरेका पशुपक्षीका कारण दुर्गन्ध नफैलियोस् र मानवीय स्वास्थ्यमा कुनै असर नपरोस् भनेर गम्भीर रहेको बताइएको छ । अहिलेसम्म रेकर्डमा रहेका सबै मृत पशुपक्षीको व्यवस्थापन गरिसकेको पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख खड्काले बताए ।

केही दुर्गममा अझै पनि मरेका पशु हुने सक्ने आशंकामा टोली खटाउने काम भइरहेको उनको भनाइ छ । अहिलेसम्म मरेका पशु रहेको भनेर कतैबाट जानकारी नआएको उनले बताए । त्यस्तै, मरेका पशुका कारण दुर्गन्ध फैलियो भनेर कतैबाट गुनासो नआएको उनको भनाइ छ । जिल्लामा पनि चिकित्सकसहितकै टोलीले मरेका पशुको व्यवस्थापन गरिएको छ । जिल्लामा क्षेत्रीय प्रयोगशाला सुर्खेतबाट डाक्टर राकेश प्रजापतिको नेतृत्वमा डाक्टर रमेश ढकालसहित चारजनाको टोली, पशु सेवा विभागबाट डाक्टर आभाष पौडेलको नेतृत्वमा तीनजनाको टोली, जिल्लाबाट आठजनाको टोली र नेपाल पाराभेटेरेनरी एन्ड लाइभस्टक एसोसिएसनका अध्यक्ष रामप्रसाद मेहता नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो ।

गोठ व्यवस्थापन तत्कालको चुनौती
गत शुक्रबार मध्यरातमा आएको भूकम्पले जाजरकोटको बारेकोट गाउँपालिका– ९ का गोपाल जैसीको घरसँगै गोठ पनि भत्कियो । जसोतसो ज्यान जोगाएका गोपालले एउटा भैँसी भने गुमाए । गोपालको परिवार पालको सहारामा बसिरहेको छ । बाँचेका पशु चौपायाको स्याहारमा उनलाई समस्या भएको छ । ‘घरै भत्कियो, हामी पनि खुला आकाशमुनि आइपुगेका छौँ, परिवारका सदस्यलाई हेर्नु कि पशु चौपायालाई,’ उनले भने । सामान्य छाप्रो बनाउन सकिए गाईवस्तुको व्यवस्थापन गर्न सकिन्थ्यो कि भन्ने उनलाई लागेको छ । जिल्लामा अबको प्रमुख चुनौती गोठ निर्माण रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । ‘हुन त मान्छेलाई नै जोगाउन मुस्किल छ, तर पशुको सुरक्षा पनि उत्तिकै महŒवपूर्ण हो, मान्छेसँगै पशुलाई पनि जोगाउनु छ, कम्तीमा सामान्य भए पनि गोठ बनाउन सकियो भने पशु जोगिने थिए,’ कार्यालय प्रमुख शर्माले भने ।

जिल्लामा भूकम्पले भत्काएका ९८ गोठसहित मानिस बस्ने घरमै रहेका तर घर भत्किएपछि खुला आकाशमा रहेका पशुको व्यवस्थापनका लागि ठूलो संख्यामा गोठको आवश्यकता रहेको उनले बताए । कति गोठ आवश्यक हो भनेर यकिन गर्ने काम भइरहेको उनको भनाइ छ । पशु चौपायालाई वासको व्यवस्थापन नहुने हो भने अब झन् चिसो बढ्दै गएको र त्यसले नोक्सान गर्ने उनले बताए ।

रुकुम पश्चिममा पनि पशुका लागि वासको व्यवस्थापन गर्ने गरी ध्यान दिइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । अहिले तत्काललाई त्रिपालको व्यवस्थापन हुन सक्ने हो भने पनि धेरै राहत मिल्ने कार्यालय प्रमुख खड्काले बताए । केही त्रिपाल प्राप्त भएको र शुक्रबारदेखि जिल्लाको त्रिवेणी गाउँपालिकाबाट घाइते भएका पशुलाई क्याल्सियम खुवाउने र पाल टाँगेर वासको व्यवस्थापन गर्न सुरु गरेको उनले बताए । ठ्याक्कै कति पशुलाई पाल टाँग्नुपर्ने हो भनेर यकिन गर्ने काम भइरहेको र सोहीअनुसार पालको माग गरिरहेको उनी बताउँछन् । अहिले १० थानजति त्रिपाल रहेको बताइएको छ ।

खेती लगाउने वेला पशु मरेपछि किसान चिन्तित
भूकम्पले विशेष गरी गोरुमा क्षति पुगेपछि किसानहरू चिन्तित बनेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ४ का रामबहादुर चन्दले आफ्ना दुईवटै गोरु मरेको सुनाए । ‘हुन त मान्छे नै मरेका छन्, यसका अघि पशु मर्नु त केही होइन, तर अब खेतीपाती गर्नु नै पर्ने होला, भएका एक हल गोरु नै मरेपछि कसरी खेती लगाउने ?’ उनले भने । आठबिसकोट नगरपालिकाका गोठे महताराले गोरु मरेपछि चिन्ता थपिएको बताए ।

प्रकाशित : २०८० कार्तिक २५ गते ९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI