मदिराले मातेका साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर ९ गते १६:१५
मदिराले मातेका साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

कावासोती । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो ।

क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।

मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ ।

पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार –१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मंगलबार राति छुरा प्रहार गरेका थिए । मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । रासस

प्रकाशित : २०८० मंसिर ९ गते १६:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI