पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १० गते ७:४०
पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।

पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको थियो । टोलीले शुक्रबारसम्म श्रमदान गरेर १०० वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए ।

भूकम्पपछि क्षतिग्रस्त भएका केही घरहरुको भग्नावशेष पन्छाउन समेत संलग्न उक्त टोली शनिबार काठमाडौं आइपुगेको छ । टोलीमा पौडेलसहित दिल्लीराम सुवेदी, दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका थिए ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो । कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्णयअनुसार अन्य टोली पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको छ ।

नेता पौडेलका अनुसार टोलीले १०० वटा अस्थायी घर निर्माणमा श्रमदान गरे पनि आवासका लागि चाहिने जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाउने कार्य भएको छ । आवास निर्माणको सरकारी मापदण्ड  बनेपनि सोअनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।

प्रकाशित : २०८० मंसिर १० गते ७:४०

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI