बथानबाट छुटिएर आएको मकुना हात्ती निकुञ्जमा देखियो, सर्तकता अपनाउन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २१ गते १५:०९
बथानबाट छुटिएर आएको मकुना हात्ती निकुञ्जमा देखियो, सर्तकता अपनाउन आग्रह

कावासोती । बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) चितवन राष्ट्रिय निकुञ्जमा देखापरेको छ । निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो । हात्ती देखिएपछि निकुञ्ज प्रशासनले नियमित घाँस दाउरा गर्न जाने र अन्य काममा निकुञ्ज र सामुदायिक वन क्षेत्रमा जाने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ । बथान छोडेर आएका हात्तीले समाजमा क्षति पु¥याउन सक्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको तिवारीले बताए ।

तिवारीका अनुसार अहिले यो हात्ती निकुञ्जको जनकपुर पोष्ट क्षेत्रमा देखिएको भए पनि निकुञ्जको अन्य क्षेत्र र मध्यवर्तीका सामुदायिक वनमा पुग्ने सक्ने भएकाले सामुदायिक वन क्षेत्रमा घाँस दाउरा गर्न जाने र अन्य काममा निकुञ्ज प्रवेश गर्नेलाई र्तकता अपनाउन आग्रह गरिएको हो ।  “समूहमा आएका हात्तीभन्दा बथान छोडेर आएका हात्ती खतरनाक हुन्छन् । सबैले सावधानी अपनाउनुपर्छ ।” तिवारीले भने ।

मकुना कोशी टप्पुबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै चितवन राष्ट्रिय निकुञ्ज आइपुगेको अनुमान गरिएको छ । बथान छोडेर आएको हात्ती अरुभन्दा उग्र हुने हुँदा बस्ती पस्ने, क्षति गर्नेलगायतका काम गर्नसक्ने उनको भनाइ छ । निकुञ्जका अनुसार बथान छोडेर आएका योसमेत चार वटा हात्ती यहाँ रहेका छन् । रोनाल्डो, ध्रुवे र गोविन्दे यसअघि आएका थिए । यी हात्तीले समय समयमा बस्तीमा पसी आतङ्क मच्चाउने गरेको तिवारीले जानकारी दिए ।

प्रकाशित : २०८० मंसिर २१ गते १५:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI