पार्टी सदस्यबाट पैसा उठाएर एमाले गण्डकीले १० करोडको घर किन्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष १७ गते ११:४४
पार्टी सदस्यबाट पैसा उठाएर एमाले गण्डकीले १० करोडको घर किन्दै

कावासोती । एमाले गण्डकीले झन्डै १० करोड पर्ने घर पार्टी कार्यालय प्रयोजनका लागि खरिद गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीले अधिवेशनपछिको पहिलो बैठकमा नै घर किन्ने योजनाबारे सदस्यहरूलाई जानकारी गराएको हो ।

त्यसका लागि एमालेले प्रत्येक पार्टी सदस्यहरूबाट पाँच सय रुपैयाँ उठाउने छ ।

“गण्डकीमा हाम्रा ६३ हजार सदस्यहरू हुनुहुन्छ । उहाँहरूबाट कम्तीमा पाँच सय रुपैयाँ उठाउने छौँ,” एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले भने ।

एमालेको अहिलेको पार्टी कार्यालय पोखरा नयाँ बजारमा छ । त्यहाँ उसले मासिक भाडा तिरेर कार्यसञ्चालन गर्दै आइरहेको छ । तर, कुनै बैठक गर्नुपरे पार्टी प्यालेस नै धाउनुपर्ने बाध्यता छ ।
त्यसका लागि आफ्नै भवन खरिद गर्न लागिएको दवाडीले बताए ।

एमालेले पोखरा ८ सिर्जनाचोकमा साढे पाँच तले घर किन्न लागेको हो । त्यसका लागि १५ लाख रुपैयाँ बैना दिइसकेको छ ।

खरिद गर्न लागेको यो भवनमा पहिला रेडियो स्टेसन र इन्टरनेटको अफिस थियो । दुवैले छोडेपछि र आर्थिक मन्दीको समयमा भवन किन्ने पाएपछि घरधनीले बेच्ने निधो गरेका हुन् ।

९ करोड ३५ लाखमा यो घर चैत मसान्तभित्रै पास गर्ने सम्झौता भइसकेको छ । त्यसलाई फर्निसिङको आवश्यकता छ । बैठक हल, पदाधिकारीका कोठा, आवश्यकता अनुसार फर्निचर, रंगरोगन गर्दा ११ करोड रुपैयाँ खर्च हुने अनुमान एमालेको छ ।

यसका लागि रकम व्यवस्थापन गर्न पार्टी सदस्यबाट पाँच सयका दरले रकम उठाउँदा ३ करोड १५ लाख रुपैयाँ संकलन हुन्छ ।

बाँकी रकम भने शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने दवाडीले बताए । जिल्ला कमिटीलाई पनि भवन खरिद बारे कार्ययोजना छिट्टै पठाइने उनले बताए ।

“भवन किन्ने भनेर कुराकानी भएको छ । त्यसको निमित्त रकम उठाउने कार्ययोजना बनाएर जिल्लामा पठाउने छौँ,” दवाडीले भने ।

आफ्ना पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँग पनि एमालेले रकम संकलन गर्ने तयारी गरेको छ ।

गण्डकीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र उनीहरूका स्वकीय, प्रदेश सांसद र स्वकीय, पालिका प्रमुख र उपप्रमुख, एमालेमा आस्था राख्ने कर्मचारी, शिक्षकसँग एक महिनाको पारिश्रमिक सहयोगबापत माग्ने योजना एमालेको छ । यसबाट एक करोड रुपैयाँ उठ्ने हिसाब छ ।

आर्थिक अवस्था राम्रो भएका ५ सय जना सदस्यबाट १/१ लाख, अझै सम्पन्नशाली १० जनाबाट १०–१० लाख गरेर रकम जुटाउने योजना एमालेको छ ।

पार्टी कार्यालय बनाउन लागेको थाहा पाएपछि प्रतिनिधिसभा सदस्य प्रभु ग्रुपका प्रमुख देवी भट्टचनले १० लाख रुपैयाँ दिइसकेका छन् ।

यसबाहेक एमालेले गण्डकी प्रदेश अन्तर्गत जिल्ला अधिवेशनहरू चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । एघारै जिल्लाको अधिवेशन चैतभित्र सक्ने निर्णय भएको दवाडीले बताए । त्यसअघि माघभित्र जनवर्गीय संगठनको अधिवेशन हुने उनले जानकारी दिए ।

बैठकले पार्टी कमिटीका सदस्यहरूको कार्य विभाजन पनि गरेको छ । निर्वाचन क्षेत्र, भूगोल, जिल्ला, पालिका, जनवर्गीय संगठन विभागीय जिम्मेवारी तोकिएको एमालेले जनाएको छ ।

प्रकाशित : २०८० पुष १७ गते ११:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI