सिरियामाथि नेपालको शानदार जित

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ८ गते २१:४८
सिरियामाथि नेपालको शानदार जित

कावासोती  । वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले शानदार सुरुवात गरेको छ ।

साउदी अरबमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोल अन्तरले हराएको हो ।

समूह बीको आफ्नो पहिलो खेलमा नेपालले सिरियामाथि प्रभावशाली जित दर्ता गरेको हो ।

जित सहित नेपालले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

खेलमा अग्रता नेपालले १० औं मिनेटमा अमिशा कार्कीको गोलमा लिएको थियो । त्यसको तीन मिनेटपछि अनिता बस्नेतले नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको १९ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन् । पहिलो हाफ सकिन तीन मिनेट अघि रानाले सिरियाका लागि एक गोल फर्काएकी थिईन् ।

दोस्रो हाफको ६९ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ४–१ को शानदार जित दिलाईन् ।

प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा सिरिया सहित प्यालेस्टाइन र इराक छन् ।

नेपालले समूह चरणको खेलमा बिहीबार इराक र शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।

प्रकाशित : २०८० फागुन ८ गते २१:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI