आईपीएलको १७औँ संस्करण आज देखि सुरु हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत ९ गते १२:५१
आईपीएलको १७औँ संस्करण आज देखि सुरु हुँदै

कावासोती । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । यसपटक पनि आईपीएलमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिने छ ।

यसपटक आईपीएलमा केही नियममा पनि परिवर्तन गरिएको छ । क्रिकेटको टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि बलरले एक ओभरमा एउटामात्र ‘बाउन्सर’ फाल्न पाउँछ । हालसम्म आईपीएलमा पनि यही नियम लागू हुँदै आएको थियो ।

तर, आईपीएलको १७औँ संस्करणमा यो नियममा परिवर्तन गरिएको छ । अब कुनै पनि बलरले प्रत्येक ओभरमा दुईवटा ‘बाउन्सर’ फाल्न पाउने छन् । यसअघि भारतमा आयोजना हुने घरेलु प्रतियोगितामा सैयद मुस्ताक अली ट्रफीमा यो नियमको प्रयोग गरिएको थियो ।

आईपीएलमा पनि यो नियम लागू भएपछि बलरहरुलाई केही फाइदा पुग्ने अनुमान गरिएको छ । यो नयाँ नियमले ब्याट्सम्यानमाथि मानसिक दबाब बढाउने छ । खेललाई सन्तुलनमा राख्न यो नियम प्रभावकारी सिद्ध हुने अनुमान आयोजकले गरेको छ ।

यसैगरी आईपीएलको यसअघिको संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) नियम लागू गरिँदै आएको थियो । तर, शुक्रबारदेखि सुरु हुने आईपीएलको १७औँ संस्करणमा भने डीआरएस नियमको सट्टा स्मार्ट रिप्ले सिस्टम (एसआरएस) लागू गरिने छ ।

स्मार्ट रिप्ले सिस्टमलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउन खेल मैदानमा आठवटा हक–आई क्यामरा जडान गरिने छ । यी क्यामराको मद्दतले खेलमा सटिक निर्णय लिन मद्दत पुग्ने अनुमान गरिएको छ । एसआरएस लागू भएपछि टेलिभिजन अम्पायरलाई पनि हक–आई क्यामरा अपरेटर बस्ने कोठामै राखिने छ ।

हक–आई प्रविधि नियन्त्रण गर्ने कक्षमा दुई जना अपरेटरसँगै टेलिभिजन अम्पायर पनि रहने छन् । त्यही कक्षबाट टेलिभिजन अम्पायरले पनि मैदानमा हुने सम्पूर्ण गतिविधिको अवलोकन गर्नेछन् । यो नियम लागू हुनुअघि डीआरएसबाट खेलको विषयमा कुनै निर्णय लिनु परेमा टेलिभिजन ब्रोडकास्टिङ निर्देशकले टेलिभिजन अम्पायरलाई अपरेटरसँग सम्पर्क गराउने गर्थे ।

एसआरएस लागू भएपछि भने टेलिभिजन अम्पायर आफैले हक–आई क्यामरा नियन्त्रण कक्षमा बसेर आफैले सबै कुराको निरीक्षण गर्नेछन् । सोही आधारमा टेलिभिजन अम्पायरले विवादित विषयमा आफ्नो निर्णय सुनाउने छन् ।

प्रकाशित : २०८० चैत ९ गते १२:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI