कालीगण्डकी करिडोरले फेरिएको जीवनशैली

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख ४ गते १४:३९
कालीगण्डकी करिडोरले फेरिएको जीवनशैली

बोमलाल गिरी/नवलपुर। नवलपुरको बुलिङटार–१ ढाँडबेसीका ३५ वर्षीय कुश माकीम मगर आजभन्दा चार वर्ष अघि खाडी मुलुक साउदी अरब जानका लागि अन्तिम तयारीमा थिए । भिषा पनि आइसकेको थियो । तर अन्तिम समयमा सामाजिक सञ्जालहरुमा त्यहाँ रहेका नेपालीहरुले पाएका दुःख, पीडा र सास्ती देखेपछि विदेश जाने उनको मन फेरियो ।

उनीमा सानो रकमबाटै भए पनि आफ्नै देशमा, आफ्नै ठाउँमा, आफै व्यवशाय गर्ने सोच पलायो । १० हजार रुपैयाँ लगानी गरेर बाबु (दिलबहादुर माकीम मगर) र छोराले ढाँडबेसीमै आफ्नै घरमा रेष्टुरेन्ट खोले । बाबुसँग डकर्मी र छोरोसँग रेष्टुरेन्टको शीप भएकाले कुनै बाहिरी मान्छे नहाली कटेजसहितको रेष्टुरेन्ट तयार भयो । कालिगण्डकी करिडोरको चहलपहलसँगै कुश माकिमको रेष्टुरेन्टको चहलपहल मात्र बढेन, उनको जीवन शैलीनै बदलिएको छ ।

‘‘अन्तिम समयमा आएर धन्न पासपोट फ्याकेर विदेश जाने निर्णय बदलेँ । अहिले यो बाटो हिँड्ने यात्रुहरुको चहलपहलले रेष्टुरेन्ट फस्टाउँदै गएको छ, कुश मामिकले भन्नुभयो, ‘‘हरेक वर्ष कमाएको पैसाले कटेज र सुत्ने कोठाहरु थप्दै गएको छौं, विदेशभन्दा यसैले बढी खुशी दिएको छ ।’’

भारतीय ठेकेदार कम्पनी इकेके कन्स्ट्रक्सन प्रालिका आयोेजना इन्जिनियर हेमराज ओलीका अनुसार नवलपुरबाट पहाडी पालिकाहरु बुलिङटार, डेढगाउँ, पाल्पाको रामपुर हुँदै पीपलडाँढा जोड्ने कालिगण्डकी करिडोरको पूर्वी खण्डको ९५ प्रतिशत बाटो सम्पन्न भइसकेको छ ।

गैँडाकोटको कालिगण्डकी चोकबाट सुरु भएर पिपलडाँडासम्म झण्डै १३२ किलोमिटर सडकको ९५ प्रतिशत काम सम्पन्न भएर कालोपत्रे भएको हो । यो करिडोरले कालीगण्डकी नदीको तिरैतिर भएर नवलपुरको गैँडाकोटदेखि पाल्पाको पीपलडाँडा पुगेर सिद्धार्थ राजमार्ग छुन्छ ।

पीपलडाँडाबाट राम्दीपुल ३ किलोमिटर, स्याङजाको गल्याङ साढे १७ किलोमिटर, पाल्पा तानसेन बजार २८ किलोमिटर, बुटबल ६२ किलोमिटर र पोखरा ९५ किलोमिटर दुरीमा पर्छ । नारायणघाट–बुटबल सडक खण्ड र मुग्लिङ–पोखरा सडक खण्ड मर्मतको क्रममा रहेकाले यात्रा गर्न कठिन हुँदा धेरै यात्रुका लागि कालिगण्डकी करिडोर अहिले बैकल्पिक मार्ग भएको छ ।

जसले गर्दा यहाँका स्थानीयको जीवन शैली नै परिवर्तन भएको बताउँछन् बौदिकाली–२ का पूर्व वडाध्यक्ष एवं शिक्षक बालप्रसाद ठाडा मगर । ‘सजिलै सहर जोडिएपछि शिक्षा र स्वास्थ्योपचारका लागि सहज भएको छ, स्थानीय कृषि उपजले राम्रो मूल्यसहितको बजार पाएको छ, ठाडा मगरले भने, ‘स्थानीयको आर्थिक उन्नती हुँदा जीवनशैली नै परिवर्तन भएको छ ।’

बुलिङटार २ का कृष्ण श्रेष्ठले लामो समयदेखि यही करिडोरको बाटोको प्रतिक्षामा रहेका स्थानीयले आफ्नो थुपै्र जग्गा बाटोमा जाँदा पनि कुनै गुनासो नरहेको बताए । बरु बाटोले धेरैलाई फाइदा भएको उनको भनाई थियो ।

यस करिडोरलाई भारत र चीन जोड्ने आर्थिक, सांस्कृतिक र पर्यटकीय महत्वको त्रिदेशीय पारवहन मार्गको रुपमा लिइएको छ । करिडोरको पहिलो खण्डले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने काम गरेको छ । २०७५ साल मङ्सिर १७ गतेदेखि सुरु गरिएको कालीगण्डकी करिडोरको निर्माण कार्य २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने ठेक्का सम्झौता भए पनि कोरोनाका कारण एक वर्ष धकेलिएको थियो ।

प्रकाशित : २०८१ वैशाख ४ गते १४:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI