चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन देखि राजेश सम्मको दौड

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ७ गते ९:२०
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन देखि राजेश सम्मको दौड

गत मंसिर २९ गते चलचित्र विकास बोर्डमा अध्यक्ष केशव भट्टराईको निधन भयो । दुईवर्षे कार्यकालका लागि सरकारले गत चैतमा नियुक्त गरेका भट्टराईको हृदयाघातका कारण नियुक्ति पाएको ९ महिनामा निधन भएको थियो । उनले आफ्नो कार्यकालमा बक्स अफिस लागु गर्न सुरु गरेका थिए ।  भट्टराईको निधन पछि रिक्त रहेको अध्यक्ष पदका लागि अकांक्षीहरूले लबिङ सुरु गरेका छन् । बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, राजेश हमाल, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, आकाश अधिकारी र निर्देशक केपी पाठकको नाम चर्चामा छ । 
दयाराम दाहाल आकांक्षीमध्ये सबैभन्दा बलियो प्रतिस्पर्धी भएको चर्चा सुरु भएको छ । दाहाल सञ्चारमन्त्री गोकुल बाँस्कोटाका गृहजिल्लाका हुन् । उनले बाँस्कोटालाई चुनावमा सहयोग गरेर गुन लगाएका छन् । भुवन केसी पनि अध्यक्षको दौडमा छन् । तत्कालीन एमालेनिकट भुवन नेकपाका नेता माधव नेपालनिकट मानिन्छन् । बोर्ड अध्यक्षका अर्का आकांक्षी हुन् अभिनेता राजेश हमाल । उनले पनि अध्यक्षका लागि आकांक्षा देखाएका छन् । बौद्धिक अभिनेताको छवि बनाएका राजेश पनि यतिबेला लबिङमा जुटेका छन् ।
नवल खड्काले पनि आफूलाई अध्यक्षको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरेका छन् । यस्तै, लय संग्रौलाले पनि अध्यक्षका लागि लबिङ गरिरहेका छन् । यसैगरी, निर्देशक आकाश अधिकारी र केपी पाठक पनि अध्यक्षको दौडमा छन् ।

प्रकाशित : २०७६ माघ ७ गते ९:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI