बालबालिकालाई सास्ती : ६ घन्टा कक्षामा, चार घन्टा बसमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २७ गते ११:१४
बालबालिकालाई सास्ती : ६ घन्टा कक्षामा, चार घन्टा बसमा

काठमाडौँ, २७ फागुन । स्तरीय पढाइ हुन्छ भनेर बुढानीलकण्ठ हात्तीगौँडाका विद्यार्थीलाई ललितपुर हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल पुर्‍याइन्छ, स्तरीय पढाइ हुन्छ भनेरै ललितपुर हात्तीवनका विद्यार्थीलाई बाँसबारीस्थित चाँदबाग स्कुल ओसारिन्छ । ललितपुर धापाखेलको जेम्स स्कुलले बालाजुको माछापोखरीसम्मका विद्यार्थी बोक्छ, चोभारको मोडर्न इन्डियन स्कुलले बुढानीलकण्ठ नारायणथानबाट विद्यार्थी जम्मा गर्छ ।

काठमाडौंको अत्यासलाग्दो जाम र धुलोमा बालबालिका दिनमा चार घन्टा बाटोमै बिताउन बाध्य छन् । राष्ट्रिय शिक्षा नीतिले नै बालबालिकालाई निवासनजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिएको छ । तर, विद्यालयको व्यापारमोह र अभिभावकको भ्रमले उपत्यकाका बालबालिका काठमाडौंको जाम र धुलोमा दैनिक अत्यासलाग्दो यात्रा गर्न बाध्य छन् । घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर फर्किँदा दैनिक चार घन्टा गाडीमै बिताउन बाध्य छन् बालबालिका । चर्को जाम छिचोल्दै, धुवाँ–धुलो खाँदै हुने यात्रामा गाडीमै निदाउँछन् । उनीहरूको विद्यालयमा पढ्ने समयभन्दा कष्टकर यात्रा बढी हुने गरेको छ ।


राम्रो विद्यालय रोज्ने नाममा अभिभावककै भ्रमले बालबालिकालाई यातना भइरहेको छ । बुढानीलकण्ठ क्षेत्रका अभिभावक चोभारदेखि धापाखेलसम्मका विद्यालयमा बालबच्चा पठाउँछन् । तर, चोभार र धापाखेलका अभिभावक फेरि बुढानीलकण्ठतिर दौडाउँछन् । कलंकी, सातदोबाटो, हात्तीवन क्षेत्रका अभिभावक नजिकका विद्यालय छाडेर कपनदेखि बाँसबारीसम्म कुदाउँछन् ।

उपत्यकाका ठूला भनिएका विद्यालयले यसरी टाढा–टाढाबाट विद्यार्थी ओसार्छन् । कीर्तिपुरको चोभारस्थित मोडर्न इन्डियन स्कुल विद्यार्थी बटुल्न दैनिक बुढानीलकण्ठदेखि हात्तीगौँडासम्म पुग्छ । बिहान ६ः५० बजेदेखि गाडीले विद्यार्थी बटुल्न थाल्छ । जहाँ माथिल्लो तहका मात्र होइन, प्रि–स्कुल (केजी) मा अध्ययन गर्ने विद्यार्थी पनि हुन्छन् । ट्राफिक जाममा नपर्दा पनि कम्तीमा एकतर्फी यात्रा मात्रै दुई घन्टाको हुन्छ । कहिले त विद्यालयमा पढ्नभन्दा गाडीको यात्रामा बढी समय जान्छ । (नयाँ पत्रिकाबाट)

प्रकाशित : २०७६ फागुन २७ गते ११:१४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI