प्राकृतिक चिकित्सालय रजहरमा ४०० सिट क्षमताको आईसोलेसन वार्डको स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १२ गते १९:१७
प्राकृतिक चिकित्सालय रजहरमा ४०० सिट क्षमताको आईसोलेसन वार्डको स्थापना

प्रकाश भण्डारी, चैत १२ गैँडाकोट
विश्वभर फैलिएको कोरोनाको त्रासलाई मध्यनजर गर्दै नवलपरासी बर्दघाट सुस्ता पुर्व देवचुलीमा रहेको प्राकृतिक चिकित्सालयमा ४०० सिट क्षमताको आईसोलेसन वार्डको स्थापना गरिएको छ।
गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको नेतृत्वमा गएको टोलीले आज उक्त प्राकृतिक चिकित्सालयको अवलोकन गर्दै ४०० वार्डको आईसोलेसन कक्ष स्थापना गरेको हो।
आजै १०० कोठा खाली गरि ४०० जना सम्म संक्रमित बिरामीहरुको उपचार गर्न मिल्ने आईसोलेसन वार्डको स्थापना गरिएको प्राकृतिक चिकित्सालयका प्रमुख हरि सापकोटाले बताउनुभयो।
आईसोलेसन वार्डमा आवश्यक पर्ने उपकरणहरु जस्तै: अौषधी, बेड, झुल, बिरामीको लागि आवश्यक पर्ने ड्रयर, खानेपानी सहित तीन जना आवासीय डाक्टरको व्यवस्थापन गरिएको सापकोटाले जानकारी गराउनुभयो।
आईसोलेसन वार्डको लागि आवश्यक पर्ने दक्ष जनशक्ति प्रशासन कार्यालय तथा देवचुली र गैँडाकोट नगरपालिकाले उपलब्ध गराएको खण्डमा यहाँबाट स्तरीय सेवा उपलब्ध गराउन सकिने उहाँको भनाई छ।
कोरोनाको महामारीलाई व्यवस्थापन तथा निर्मुल गर्नका लागि  गैँडाकोट नगरपालिकाले आईसोलेसन वार्ड स्थापनार्थ स्थानीय विद्यालय, सामुदायिक भवन लगायतका सम्भावित स्थानहरुको खोजी गरिरहेको गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी गराउनुयो।
प्रकृतिको वरदान रहेको हाम्रो देश नेपालमा कोरोना संक्रमणलाई सकेसम्म न्यून र थप फैलिन नदिनका लागि सरकारले लागू गरेको लकडाउनको पुर्ण पालना गर्ने, सबै नागरिकहरु घरमै बस्ने, बाहिर ननिस्कीने र खानपानमा संयमता अपनाउने हो भने यो महामारी नेपालमा फैलिन नसक्ने नगर प्रमुख पौडेलले नवलपुर टाईम्ससँगको कुराकानीमा बताउनुभयो।

प्रकाशित : २०७६ चैत १२ गते १९:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI