नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २३ गते ११:४९
नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११ पुग्यो
corona

सुर्खेतमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। उनको बिहिबार बिहान २:१५ बजे मृत्यु भएको थियो। तर स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाले जनाएको छ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाका २० वर्षीय युवकको मृत्युपछि पिसिआर जाँच भएको हो। 

निर्देशनालयका अनुसार भारतबाट नेपाल आएका ती युवा विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेका थिए। जेठ ७ गते नेपाल आएका उनी ८ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए। त्यस्पछि उनी २१ गते क्वारेन्टाइनबाट घर गएका  हुन्। घर जानअघि गरिएको आरडिटी जाँचका क्रममा उनमा कोरोना नेगेटिभ आएको थियो। आरडिटीमा नेगेटिभ आएपछि उनलाई क्वारेन्टाइनबाट घर पठाइएको थियो।

घर पुगे पनि उनी घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा बसेको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष धनबहादुर थापाले जानकारी दिए। उनका अनुसार उक्त  केन्द्रमा ती युवासँगै अन्य ६ जना पनि बसेका थिए। मृतक बसेको जनता माविको क्वारेन्टाइनमा ४५ जना थिए।

मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली वीरेन्द्रनगरबाट हिँडिसकेको बताइएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या ११ पुगेको छ।

प्रकाशित : २०७७ जेठ २३ गते ११:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI